चिसोले बिरामी पर्न थाले उखु किसान

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ पुस २०७७, ०७ : २६
चिसोले बिरामी पर्न थाले उखु किसान

काठमाडौँ । भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं उपत्यकामा आएर आइतबार आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गर्‍यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् ।

संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ तर कार्यान्वयन कहिले हुने निश्चित छैन । यता आन्दोलनरत किसान भने चिसोले बिरामी पर्न थालेका छन् ।

उखु किसानहरू संघीय राजधानी आएर दबाब दिएपिच्छे सम्बन्धित उद्योगीलाई कारबाही गर्ने र भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएर सरकारले घर फर्काउने गरेको छ । उनीहरू फर्किएपछि भने प्रतिबद्धता कार्यान्वयनका लागि पहल गरिँदैन । किसान आन्दोलनमा उत्रिएका बेला ऐक्यबद्धता जनाउने राजनीतिक दल र संघसंस्थाले पनि बिर्सन्छन् । ‘अहिले पनि निर्देशन मात्रै हुने हो कि भन्ने चिन्ता लागेको छ ।

तर आन्दोलनबाट पछि हट्दैनौं,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘बिरामी भएका साथीहरू पनि औषधि खाएर आन्दोलनमा आइरहनुभएको छ ।’ संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायका अनुसार माइतीघर मण्डलमा आन्दोलनरत तीन जना चिसोका कारण बिरामी भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस