माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १४ : १५
माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी

फाइल तस्विर

काठमाडौँ । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाएसम्म प्रदर्शनलाई निरन्तरता दिइने किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष माघ ७ गते भित्र भुक्तानी दिने गरी पुस १८ गते किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर उद्योगीहरुले एकवर्षसम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । 

बुधबार उखु किसानहरु हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरुले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरुलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरु भने सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस