माडीको विकासमा निकुञ्ज बाधक बन्दैन : बराल

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १० : ३३
माडीको विकासमा निकुञ्ज बाधक बन्दैन : बराल

चितवन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्ज बाधक नरहेको बताएका छन् । 

हरियो वन कार्यक्रमको सहयोगमा सञ्चारिका समूह चितवनले माडीमा आयोजना गरेको वातावरणीय संरक्षण तथा लैङ्गिकता र सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बरालले यस्तो बताएका हुन् ।

उनले  माडी नगरपालिकाका बासिन्दाले बारम्बार चितवन राष्ट्रिय निकुञ्जलाई आरोप लगाए पनि  निकुञ्जले माडीको विकासमा सधैं सघाउ पुर्याएको र विधि विधान र ऐन अनुसार लागिरहेको बताए । चितवन राष्ट्रिय निकुञ्जले विकास र संरक्षणलाई समानान्तर रूपले अघि बढाएको बताउँदै उनले यस अवधारणाले स्थानीयवासीमा निकुञ्जप्रतिको धारणा सकारात्मक हुने विश्वास व्यक्त गरे ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीको विकासको प्रमुख आधार पर्यटन नै भएको बताए । निकुञ्ज ऐनका कारण केही व्यवहारिक समस्या भए पनि माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने उनको भनाई थियो ।

अधिवक्ता फुलमाया रानाभाटले संरक्षणमा महिलाको सहभागिता, श्रोत बाँडफाडमा महिलाको अवस्था साथै कानुनी साक्षरताका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

सञ्चारिका समूह चितवनकी अध्यक्ष अजिता अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस