पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने मनोज गजुरेलको तयारी

सामाजिक संजाल मार्फत दिए यस्तो प्रष्टिकरण

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, ०८ : ५६
पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने मनोज गजुरेलको तयारी

काठमाडौं ।  हास्य कलाकार मनोज गजुरेल पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्। उनले तीन वर्षअघि सम्बन्ध विच्छेद गरेपनि आफुलाई गाली बेईज्जती नरोकिएपछि अदालत जाने बताएका हुन् । 

पूर्वपत्नीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनले सामाजिक संजाल मार्फत गुनासो गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै गजुरेलले  एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भएपनि अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन्।

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेकोउनको भनाइ छ। डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो। तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन्। डिभोर्स गर्दा मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएको र जसमध्ये ६५ लाख छोरीको लागि थियो।

हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मिनाले उनीमाथि विभिन्न आरोप लाञ्छना लगाउदैं आएको उनको भनाई छ । गजुरेल र उनकी पत्नी मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको होे।

प्रतिक्रिया दिनुहोस