प्रहरी चौकीबाटै हराए मूर्ति, एउटा चाहिँ प्रहरीकै आँगनमा

पत्रपत्रिकाबाट

मंगलबार, ३० मंसिर २०७७, ०७ : ४७
प्रहरी चौकीबाटै हराए मूर्ति, एउटा चाहिँ प्रहरीकै आँगनमा

प्रतिकात्मक तस्विर

काठमाडौं । लिच्छविकालीन प्रतिनिधि प्रस्तर मूर्तिहरूमध्येमा पर्ने ब्रह्माको एउटा मूर्ति २०३८ सालको मध्यसम्मै जयबागेश्वरी मन्दिर पर्तिरको खुला मन्दिरमा राखिएको थियो । एकाएक त्यो मूर्ति हराएपछि खैलाबैला मच्चियो, प्रहरी–प्रशासनले खोजबिन सुरु गर्‍यो ।

केही महिनापछि पशुपतिछेउको वाग्मती किनारमै बालुवा खनेर खाल्डोमा हालिएको अवस्थामा उक्त मूर्ति भेटियो । अब यो कहाँ राख्ने भन्ने बहस स्थानीयमाझ सुरु भयो । पुरानै ठाउँमा राख्ने हो भने फेरि चोरिने डर थियो । ‘त्यसपछि सुरक्षाका हेतुमा यो मूर्तिलाई गौशालाको प्रहरी चौकीमा राख्ने निधो भएको थियो,’ पशुपति क्षेत्रका विज्ञ गोविन्द टण्डनले भने, ‘कुनै संग्रहालय, पुरातत्त्व विभाग र प्राचीन स्मारक जनाउ दिने ठाउँमा यो पुरातात्त्विक चिजलाई राखिनुपर्ने हो तर त्यसो भएन । अहिले पनि गौशाला प्रहरीको कुनोमा ब्रह्माजी राखिएकै छ ।’

स्रोतसाधन र अधिकारसम्पन्न पशुपति विकास कोष तथा यो क्षेत्र स्वयंले यस्ता पुरातात्त्विक सामग्रीको संग्रह गर्न वा संग्रहालय बनाउन सक्ने धारणा राख्दै टण्डनले पशुपति गुठीअन्तर्गत गोश्वारामा रहेका पुराना मूर्ति र सम्पदा पनि खोजबिनको विषय बनेको बताए ।  ‘पशुपति क्षेत्रबाट हराएका भनिएका र कहींकतै फेला परेका मूर्तिलाई गौशाला प्रहरीले उठाएर आफूकहाँ भण्डारण गर्ने गरेको थियो । म स्वयंले गौशाला प्रहरी चौकीमा दर्जनौं मूर्तिको बिजोग देखेको थिएँ,’ उनले सुनाए, ‘आज त्यहाँ ती मूर्ति छैनन् भन्ने सुनेको छु । आखिर ती पुरातात्त्विक महत्त्वका मूर्ति कहाँ गए ? खोजबिन गर्ने कसले ?’

लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा छैटौं शताब्दीमा बनेको ब्रह्माको यो मूर्ति देवपाटनबाट सन् ८० दशकको सुरुवातमै हराएको विवरण दिएका छन् । उनले यो मूर्तिलाई प्रहरी ‘कस्टडी’ मा राखिएको  उल्लेख गरे पनि के, कहाँको प्रहरी चौकी भनेर खुलाएका छैनन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस