परीक्षण कम हुँदा सङ्क्रमण पनि कम

रासस

सोमबार, २९ मंसिर २०७७, २० : २४
परीक्षण कम हुँदा सङ्क्रमण पनि कम

काठमाडौं । कोभिड–१९ को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा सङ्क्रमण देखिएको छ । आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले सङ्क्रमित दर घटेको बताउनुभयो । उहाँका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । आज देखिएका सङ्क्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन् । आज थपिएकासँगै मुलुकभरि सङ्क्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३३३ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४२ जना पुरुष र १९१ जना महिला रहेका छन् । 

सङ्क्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् ।

भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । सङ्क्रमितमध्ये सात हजार ३४० जना होमआइसोलेशनमा छन् । 

प्रतिक्रिया दिनुहोस