उखु किसानको आन्दोलनप्रति जनमोर्चाको समर्थन

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, १२ : ३५
उखु किसानको आन्दोलनप्रति  जनमोर्चाको समर्थन

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले उखु किसानको संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । सो पार्टीकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध भएको बताएकी छिन् । 

‘गत वर्ष पुसमा रकम भुक्तानीको माग गर्दै किसानले काठमााडौंमा आई संघर्ष गरेका थिए । उद्योग मन्त्रालयको समन्वयमा चिनी मिल र उखु किसानबीच तत्काल भुक्तानी गर्ने सम्झौता भएको थियो । तर सम्झौता भएको एक वर्षसम्म पनि भुक्तानी नगरिनु सरकार र चिनी मिलको गैरजिम्मेवारको पराकाष्ठा हो । उखुको भुक्तानी नदिएर संघर्षको लागि बाध्य पारिनु किसानमाथि गरिएको अपराध हो’, उनको विज्ञप्तिमा भनिएको छ। 

बिक्री गरेको उखुको मूल्य भुक्तानी नगरिनु चिनी मिलको किसानमाथिको लुट, दादागिरी र चरम शोषण भएको भन्दै उनले चिनी मिलहरुले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेका समेत उल्लेख गरेकी छिन् । 

जनमोर्चाले भुक्तानी नगर्ने चिनी मिलमाथि कारवाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, बिक्री गरिएको रकम तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस