सोमबार उखु किसानले माइतीघरमा धर्ना दिने

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १२ : ३२
सोमबार उखु किसानले माइतीघरमा धर्ना दिने

काठमाडौं । उखु किसानहरुले सोमबार माइतीघरमा धर्ना दिने भएका छन् । चिनी मिलले उखुको पैसा नदिएको भन्दै उखु किसान फेरि आन्दोलित भएका हुन्।

काठमाडौंको माइतीघरमा धर्ना बस्न सर्लाहीका किसान काठमाडौं आइसकेको किसान प्रतिनिधि सफिन्द्र यादवले  जानकारी दिए। ‘सर्लाहीबाट २५र३० जना किसान आइसके, हामी पनि रौतहटबाट त्यहीँ संख्यामा आज काठमाडौं आउँछौं,’ उनले भने। सबै किसान भेला भएर सोमबारबाट आन्दोलन सुरू गर्ने उनले जानकारी दिए। 

उनका अनुसार किसानको उखु भुक्तानी समयमै दिनुपर्ने र मिल सञ्चालन हुनुपर्ने आन्दोलनको मुख्य माग रहने छ। श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले सबैभन्दा धेरै पैसा दिन बाँकी रहेको किसानहरूले बताउँदै आएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  दिएको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

गत वर्ष माघको जाडोमा झरीमा रुझेरै उखु किसानले आन्लोलनलाई निरन्तरता दिएपछि सरकारले वार्ता गरेर किसानको खातामै रकम भुक्तानी गराइदिने आश्वासन गरेको थियो । विगतमा सरकारको वीरगन्ज चिनी कारखाना सञ्चालनमा हुँदा किसानले ४० प्रतिशत अग्रिम भुक्तानी पाउँथे  । जसले उखु खेतीमा किसानलाई प्रोत्साहीत गरेका थियो ।

सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि उनीहरू फेरि आन्दालनका लागि काठमाडौं आएका हुन्। 

प्रतिक्रिया दिनुहोस