उखु किसानहरुको समस्या तत्काल समाधार गर : विवेकशील साझा पार्टी

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १० : ४३
उखु किसानहरुको समस्या तत्काल समाधार गर : विवेकशील साझा पार्टी

काठमाडौं । उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ।  पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै उखु किसानहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेको छ । 

गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने  सहमति गरेको थियो। तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक भएको सो पार्टीको विज्ञप्तिमा उल्लेख छ । 

यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको पनि साझा पार्टीको भनाइ छ । ‘यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ।

साथै काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । भुक्तानीको माग गर्दै किसानहरु आन्दोलनका लागि काठमाडौं आएका छन् भने उनीहरुले आइतबारदेखि माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस