सर्वदलीय बैठकमा काँग्रेसले भन्यो – लोकतन्त्रविरोधी गतिविधि सरकारबाटै

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १४ : ४८
सर्वदलीय बैठकमा काँग्रेसले भन्यो – लोकतन्त्रविरोधी गतिविधि सरकारबाटै

काठमाडौँ । नेपाली काँग्रेसले सरकारको काम ठीक ढंगले हुन नसक्दा जनतामा वितृष्णा जागेको भन्दै त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने कतिपय समस्या आफै हल हुने धारणा राखेको हो । 

बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्रविरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ । 

बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए । उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी  छ ।’ महतले आफूहरुले तत्काल संसद बैठक बोलाउन अनुरोध गरेको पनि बताए ।