उपन्यास ‘मोसो’मा पत्रकारिता क्षेत्रको विकृति भेटिन्छ : कँडेल

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, २३ : ३५
उपन्यास ‘मोसो’मा पत्रकारिता क्षेत्रको विकृति भेटिन्छ : कँडेल

चितवनको पत्रकारिता क्षेत्रमा चिरपरिचित नाम हो – सूर्यप्रकाश कँडेल । उनको परिचय अब पत्रकारितामा मात्र सीमित रहेन । चितवन भरतपुर महानगरपालिका ४, त्रिचोकका स्थायी बासिन्दा कँडेलले आफ्नो परिचय साहित्य क्षेत्रमा पनि दरिलो बनाएका छन् । उनले उपन्यास ‘मोसो’ बजारमा ल्याएर आफ्नो परिचय फराकिलो बनाएका हुन् । 

Yeti Diistillery Tansen Cement box

वाणिज्य शास्त्रमा स्नातक गरेका कँडेलसँग अन्नपूर्ण पोष्ट, नागरिक दैनिकलगायत आधा दर्जनभन्दा बढी स्थानीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ । 

२०५५ साल असोजबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका कँडेलले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकमा चितवनको संवाददाता भएर समाचार लेखेका थिए । हाल सफल खबर डट कमको समाचार सम्पादक एवं नागरिक दैनिकको चितवन संवाददाता रहेका कँडेलले दुई दसकभन्दा बढी समय साहित्य सिर्जनामा बिताएका छन् । 

Upakar

मुक्तक, गीत, गजल र लघुकथा लेखनमा दख्खल भएका कँडेलले मोसो नामको उपन्यास बजारमा ल्याएका छन् । आज शनिबार उनको यो पुस्तक विमोचन हुँदैछ । 

उनले विभिन्न पत्रपत्रिकामा गीत, गजल, मुक्तक, लघुकथा फुटकररुपमा प्रकाशित गरेका छन् । उनको यो पुस्तक युरेका पब्लिकेसन प्रालिले बजारमा ल्याएको छ । उपन्यासकारको समेत परिचय बनाएका कँडेलसँग सफल खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

१) तपाईँ पेसाले पत्रकार हनुहुन्छ, अहिले पनि सक्रिय पत्रकारिता गरिरहनु भएको छ, पत्रकारिता गरिरहेको मानिसलाई पुस्तक लेख्ने हुटहुटी कसरी आयो ?

पत्रकारका रुपमा विभिन्न तह र तप्काका जनतामाझ पुग्दा विविध विषयवस्तुसँग ठोकिनु पर्ने हुन्छ । सबैका कथा, व्यथा लेख्दै गर्दा आफ्नै पेशाभित्रका समस्या र विकृतिबारे कतै लेखिएको पाइन । यसले मलाई त्यस दिशामा लेख्न हुटहुटी जगायो । त्यसैको प्रतिफल हो मोसो उपन्यास ।

२) तपाइँले आफ्नो पहिलो कृति नै साहित्यको उपन्यास विधालाई रोज्नुभयो किन ?

उपन्यास विधामा लेख्न अलि सजिलो पनि छ र जटिल पनि । सजिलो यस अर्थमा कि आफूले चाहेको सन्देश विभिन्न पात्रमार्फत् एउटा छु्ट्टै संसार निर्माण गरेर प्रवाह गर्न सकिन्छ । जटिल यस अर्थमा कि विभिन्न पात्र, परिवेश र उपकथालाई मूलकथासँग जोड्न अलि हम्मेहम्मे हुन्छ । मैले समाजलाई दिन चाहेको सन्देश उपन्यासबाट मात्रै सम्भव लागेर यो विधा रोजेको हुँ ।

३) उपन्यास ‘मोसो’ कस्तो कथा, चरित्र र सन्देश बोकेको पुस्तक हो ?

मोसोभित्र पत्रकारिता क्षेत्रको कालो पक्षलाई उजागर गरिएको छ । यसको मुख्य सन्देश श्रमजीवी पत्रकार इमानदार भई काम गरेर पनि परिवार पाल्न सक्ने हैसियतमा पुग्नु पर्छ भन्ने हो । साथै, पत्रकारिताभित्र देखा परेका विकृतिहरु हटाउने पहल आवश्यक छ भन्ने पनि हो ।

मोसो उपन्यासको नायक पत्रकार हो । तर ऊ कुबाटोमा हिँडेको छ । पैसाको लागि पत्रकारिताको आचारसंहिता नाघेको छ उसले । यसबाहेक महिला हिंसा, वृद्धवृद्धाका व्यथा, युद्धको पीडा पनि उपकथाका रुपमा आएका छन् । यिनै कथा र उपकथा अनुरुपका चरित्र उपन्यासभित्र छन् ।

४) पुस्तकमा पत्रकारिताको अनुभवको गन्थनमन्थनमात्र छ कि यस क्षेत्रमा देखिएको विकृति तथा सकारात्मक प्रभावको पनि चर्चा छ ?

पत्रकारितामा बिताएको दुई दशकभन्दा लामो समयको अनुभवको आधारमा लेखिएको कृति हो मोसो । यसभित्र निजी अनुभवजन्य गन्थनमन्थन भन्दा पनि पत्रकारिता क्षेत्रभित्र देखा परेका विसंगतिको उजागर छ । सकारात्मक प्रभावको चर्चा भन्दा पनि समाजले पत्रकारप्रति व्यक्त गर्ने नकारात्मक धारणाको चिरफार गरिएको छ ।

५) तपाइँ आफैँ पत्रकार हुनुहुन्छ, यस क्षेत्रको विकृतिहरु पनि केलाएको छ भन्नुभयो, यो त आफ्नो आङ कन्याएर आफँैलाई छारो भएन र ?

शरीरमा फोहोर जम्मा भयो भने चिलाउँछ । शरीरको कुनै अंगमा चिलायो भने बुझ्नु पर्छ, त्यहाँ फोहोर जम्मा भयो । त्यो फोहोरको सिकसिकोले चिलाई उत्पन्न गरेको हुन्छ । त्यो चिलाई मार्न कन्याउनु नै पर्छ । कन्याएपछि आनन्द आउँछ । फोहोर अलिकति भएपनि सफा हुन्छ ।

जहाँसम्म आफ्नै आङमा छारो भन्ने प्रश्न छ, त्यस प्रश्नको उत्तरमा म प्रश्नै गर्छु, त्यसो भए विकल्प के त ? मनको बह कहे बग्छ भन्छन् । मैले मनको बह कहेको हुँ मोसोमा । आफू रमाउने क्षेत्र फोहोर भयो भने नाक थुनेर बाटो लाग्ने होइन, त्यसलाई सफा गर्नेतर्फ लाग्नु पर्छ । मोसो उपन्यास पत्रकारिताभित्र थुप्रिएको विकृतिको फोहोरलाई कुचो लगाउने प्रयास हो । एउटै प्रयास सफल नहुन सक्छ । यसो भन्दैमा चुप लागेर बसिरहनु पनि बुद्धिमानी होइन ।

६) बजारमा प्रशस्त उपन्यास निस्किरहेका छन्, यो भिडमा तपाइँको पुस्तक कुहिरोको कागजस्तो हुने डर छ कि ? मैले यहाँ भन्न खोजेको पुस्तक लेख्दा कत्तिको मिहिनेत गर्नुभएको छ ? पाठकले पुस्तक रुचाउँछन् भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

पुस्तक बजारमा निश्चय नै उपन्यासको भिड छ । त्यस भिडमा मोसोले मौलिक पहिचान कायम गर्नेछ भन्नेमा म विश्वस्त छु । किनकि मोसोले जुन कथावस्तु बोकेको छ, त्यस्तो कथानकमा लेखिएको उपन्यास नेपाली साहित्यमा ज्यादै थोरै छन् । पछिल्लो समयमा त त्यस्तो कथावस्तुमा उपन्यास आएकै छैन ।

धेरै वर्षअगाडि ध्रुवचन्द्र गौतमको उपसंहार अर्थात् चौथो अन्त्य र केही वर्षअघि नारायण वाग्लेको मयुर टाइम्स उपन्यासभित्र पत्रकारिताको विषयवस्तु आएका छन् । ती दुई उपन्यासभन्दा मोसो अलि फरक छ । मोसोमा पत्रकारिताभित्रको विसंगतिसँगै प्रेमको स्वाद पनि पाउन सकिन्छ । महिला हिंसा र वृद्धवृद्धाका व्यथासँगै विगतको सशस्त्र द्वन्द्वका घाउ र पीडा उपकथाका रुपमा आएका छन् । यी सबै कुरालाई उनेर एउटा उपन्यास तयार पार्दा निश्चय नै ठूलो मिहिनेत लागेको छ ।

मैले मोसो लेख्दा कहिल्यै हतार गरिन । कथावस्तु अगाडि बढ्न नसक्दा नौ महिनासम्म एक अक्षर नथपी कुरेको छु । आफूले दुई दशक बिताएको क्षेत्रको बारेमा लेख्दा निजी अनुभवले धेरै सघाएको छ । त्यसैले पाठकले पुस्तक रुचाउने छन् भन्नेमा म पूर्ण विश्वस्त छु ।

७) कति लेखकले रहरैरहरमा पुस्तक लेख्छन्, रहर पूरा भएपछि एउटै पुस्तकमा उनीहरु विश्राम लिन्छन् । तपाइँको मोसो पनि रहरकै उत्पादन हो कि व्यावसायिक जग निर्माणको उत्पादन हो ?

यो निकै महत्वपूर्ण प्रश्न हो । निश्चय नै केही व्यक्तिहरु ‘एउटा पुस्तक प्रकाशन गरेपछि लेखक भइहालिन्छ, त्यसपछि देखा जाएगा’ भन्ने मनस्थितिले साहित्य क्षेत्रमा प्रवेश गर्छन् । अझ कतिले त सम्पत्ति कमाएपछि नामका लागि आफैले लगानी गरेर साहित्यिक कृति निकाल्छन् पनि । मैले यी दुवै सोचाईले मोसो लेखेको होइन । पैसा लगानी गरेर पुस्तक निकाल्ने हैसियतको मान्छे पनि होइन म । मोसोको कथावस्तु मन परेकैले व्यावसायिक प्रकाशन गृहबाट यसको जन्म सम्भव भएको हो ।

मोसो रहरको उत्पादन होइन । पत्रकारिता क्षेत्रमा बिताएको दुई दशकमा मैले त्यहाँभित्र देखेका विकृतिहरु, जुन बाहिरबाट हेर्दा देखिँदैन, तिनलाई समाजसामु राख्नु पर्छ भन्ने लागेर मोसो लेखेको हुँ । त्यसैले मैले भनेको छु, मोसो खराब पत्रकारको असल बकपत्र हो । समाजका विकृति पत्रकारले लेख्छ । पत्रकार र पत्रकारिताभित्रका विकृति कसले लेख्ने ? त्यही अभिभारा मैले बोकेको हूँ ।

८) पत्रकारसँगै पुस्तक लेखकको पनि परिचय बनाउनु भयो ? पहिलो पुस्तकमा सफलता मिल्यो भने अर्काे पुस्तक पनि पक्कै निकाल्नु होला, दुबै डुंगामा खुट्टा राख्न सकिन्छ र ?

यो निकै महत्व राख्ने प्रश्न हो । दुई डुंगाको यात्रा पक्कै सहज हुँदैन । पाठकको मन जित्न सकेँ भने पूर्णकालीन लेखक नै बन्छु । त्यतिबेला पत्रकारितालाई चटक्कै माया मार्नु पर्ने अवस्था आयो भने पनि म तयार छु ।

प्रतिक्रिया दिनुहोस