देवघाटमा १० श्ययाको अस्पताल बन्ने, सांसद श्रेष्ठले गरे शिलान्यास

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १० : ५१
देवघाटमा १० श्ययाको अस्पताल बन्ने, सांसद श्रेष्ठले गरे शिलान्यास

देवघाट । देवघाटमा १० श्ययाको अस्पताल बन्ने भएको छ । संघीय सरकारको लगानीमा देवघाटमा १० करोड ८५ लाखको लागतमा देवघाट गाउपालिका वडा नम्बर ५ मा आधारभुत अस्पताल बनाउन लागिएको हो । सो अस्पतालको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका छन् । 

अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकारले स्वास्थ्यको क्षेत्रमा क्रान्ती नै गरेको बताए । एकैसाथ देशैभर अस्पतालको शिलान्यास हुनु निकै गौरबको विषय भएको सांसद श्रेष्ठले बताए । अस्पतालको निर्माणपछि अव देवघाटका जनता आधारभुत स्वास्थ्य सेवाको लागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने सांसद श्रेष्ठको भनाई थियो । देवघाटमा पछिल्लो समय विकासका कामहरुले निकै फड्को मारेको भन्दै श्रेष्ठले देवघाटलाई साच्चिकै हेर्न र घुम्न लायक बनाईने बताए । 

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले सबैको सहयोगमा देवघाटमा १० श्ययाको आधारतभुत अस्पताल निर्माणको लागि स्विकृत भएको जानकारी दिए । २ रोपनी क्षेत्रफलमा बन्ने सो अस्पतालको लागि संघीय सरकारबाट १० करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । अस्पतालको डिपिआर अन्तिम चरणमा रहेको हुँदा अब चाँडै नै टेन्डर निकाली काम सुरु गर्ने गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए । 

देवघाट गाउपालिका वडा नम्बर ५ का अध्यक्ष एवंम् गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले देवघाटमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु गौरवको विषय भएको भन्दै यसको लागि पहल गर्ने सबैप्रति आभार व्यक्त गरे। 

देवघाट सहित तनहुका पाँच वटा स्थानीय तहमा अस्पताल निर्माण हुने भएको छ । सबै अस्पतालको सोमबार नै शिलान्यास गरिएको छ । संघीय सरकारले आफ्नै अस्पताल नभएका देशभरका ३ सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्ने घोषणा गर्दै सोमबार एकै पटक शिलान्यास गरिएको हो ।

देवघाट सहित भिमाद, शुक्लागन्डकी, म्याग्दे र ऋषिङमा निर्माण गरिने आधारभुत अस्पतालको सोमबार एकै दिन शिलान्यास गरिएको छ । भिमादमा प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देल, शुक्लागन्डकीमा प्रदेश सभा सांसद आशा कोईराला, म्याग्देमा गाउँपालिका अध्यक्ष माया राना र ऋषिङमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।