चितवन । प्राकृतिक कारण, दुर्घटनाका साथै चोरी सिकारीले पनि गैंडा मर्ने क्रम बढ्न थालेपछि संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति चितवन आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग गैंडा मर्नुको कारण र अवस्थाबारे जानकारी लियो ।
सोमबार सौराहामा स्थानीय सरोकारवालसँग छलफल गर्यो ।
‘गैंडा मर्ने अवस्था डरलाग्दो देखिन थाल्यो । संख्या मात्रै हेरेर र गनेर बस्न भएन । समितिले यसलाई गम्भीरताका साथ लिएको छ । समस्याको कारण खोतल्न, उपाय पत्ता लगाउन फिल्डमै आएका हौं । यसपछि हामी प्रतिवेदन लेख्छौं । सरकारलाई सुझाव र निर्देशन दिन्छौं,’ समितिका सभापति पूर्णकुमारी सुवेदीले भनिन् । संसदीय समितिको सफारिसका आधारमा सरकारले संरक्षणका लागि पाइला चाल्ने विश्वास उनको छ ।
यो आर्थिक वर्षको साउनयता मंसिर १३ सम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा १६ वटा गैंडा मृत फेला परेका छन् । तीमध्ये चारवटा गैंडालाई तस्करहरुले खागका लागि मारेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा तस्करहरुले गैंडा मार्ने क्रम सुस्ताए पनि अन्य कारणले मर्ने क्रम बढ्दो थियो । यो वर्ष चोरी सिकार पनि सुरु भएका कारण संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् ।
‘कोरोनाको यस्तो महामारीको बेलामा पनि भेला गर्नु पर्ने अवस्था आयो । किन दौडेर आउनु पर्यो भन्दा चितवन निकुञ्जमा दिन प्रतिदिन प्राकृतिक वा अन्य कारणले गैंडा मर्न थाले । यसो किन भयो भन्ने चासो नै हाम्रो हो’, समितिका सदस्य राजबहादुर बुढा क्षेत्रीले भने । ०७०र७१ सालयता १५६ वटा गैंडा मरेको सुन्दा झसङ भएको उनले बताए । गैंडाजस्ता दुर्लभ वन्यजन्तु जोगाउन चितवन र सिंगो देश चिन्तित हुनु पर्ने उनले बताए ।
‘दुर्लभ जीव जोगाउने मानव दायित्व एकातर्फ छ । अर्कोतर्फ के हो भने गैंडा हेर्न देश विदेशबाट लाखौं पर्यटकहरु आउँछन् । देशको अर्थतन्त्रमा टेवा पुगेको छ । यही गैंडा बाघ, गोही नजोगिए चितवनमा ब्रोइलरको फार्म हेर्न कोही आउँदैन । यसको हेक्का हामी सबैलाई छ,’ संसदीय समितिका सदस्य बुढा क्षेत्रीले भने । निकुञ्ज प्रशासन, सेना, र स्थानीयको मिहेनतले नै संरक्षण प्रभावकारी हुने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ मंसिर २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान