चितवन । प्राकृतिक कारण, दुर्घटनाका साथै चोरी सिकारीले पनि गैंडा मर्ने क्रम बढ्न थालेपछि संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति चितवन आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग गैंडा मर्नुको कारण र अवस्थाबारे जानकारी लियो ।
सोमबार सौराहामा स्थानीय सरोकारवालसँग छलफल गर्यो ।
‘गैंडा मर्ने अवस्था डरलाग्दो देखिन थाल्यो । संख्या मात्रै हेरेर र गनेर बस्न भएन । समितिले यसलाई गम्भीरताका साथ लिएको छ । समस्याको कारण खोतल्न, उपाय पत्ता लगाउन फिल्डमै आएका हौं । यसपछि हामी प्रतिवेदन लेख्छौं । सरकारलाई सुझाव र निर्देशन दिन्छौं,’ समितिका सभापति पूर्णकुमारी सुवेदीले भनिन् । संसदीय समितिको सफारिसका आधारमा सरकारले संरक्षणका लागि पाइला चाल्ने विश्वास उनको छ ।
यो आर्थिक वर्षको साउनयता मंसिर १३ सम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा १६ वटा गैंडा मृत फेला परेका छन् । तीमध्ये चारवटा गैंडालाई तस्करहरुले खागका लागि मारेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा तस्करहरुले गैंडा मार्ने क्रम सुस्ताए पनि अन्य कारणले मर्ने क्रम बढ्दो थियो । यो वर्ष चोरी सिकार पनि सुरु भएका कारण संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् ।
‘कोरोनाको यस्तो महामारीको बेलामा पनि भेला गर्नु पर्ने अवस्था आयो । किन दौडेर आउनु पर्यो भन्दा चितवन निकुञ्जमा दिन प्रतिदिन प्राकृतिक वा अन्य कारणले गैंडा मर्न थाले । यसो किन भयो भन्ने चासो नै हाम्रो हो’, समितिका सदस्य राजबहादुर बुढा क्षेत्रीले भने । ०७०र७१ सालयता १५६ वटा गैंडा मरेको सुन्दा झसङ भएको उनले बताए । गैंडाजस्ता दुर्लभ वन्यजन्तु जोगाउन चितवन र सिंगो देश चिन्तित हुनु पर्ने उनले बताए ।
‘दुर्लभ जीव जोगाउने मानव दायित्व एकातर्फ छ । अर्कोतर्फ के हो भने गैंडा हेर्न देश विदेशबाट लाखौं पर्यटकहरु आउँछन् । देशको अर्थतन्त्रमा टेवा पुगेको छ । यही गैंडा बाघ, गोही नजोगिए चितवनमा ब्रोइलरको फार्म हेर्न कोही आउँदैन । यसको हेक्का हामी सबैलाई छ,’ संसदीय समितिका सदस्य बुढा क्षेत्रीले भने । निकुञ्ज प्रशासन, सेना, र स्थानीयको मिहेनतले नै संरक्षण प्रभावकारी हुने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ मंसिर २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको खागसहित चारजना पक्राउ
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो