चितवन राष्ट्रिय निकुञ्जमा उपचारका क्रममा एक गैँडा मर्‍यो

रासस

शनिबार, १३ मंसिर २०७७, १३ : ५८
चितवन राष्ट्रिय निकुञ्जमा उपचारका क्रममा एक गैँडा मर्‍यो

फाइल तस्विर

चितवन । चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ ।

बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो । 

सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए । चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् । 

प्रतिक्रिया दिनुहोस