बढ्दैछ चहलपहल ठमेल बजारमा

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १६ : ४६
बढ्दैछ चहलपहल ठमेल बजारमा

file photo

काठमाडौँ । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि पर्यटकीय बजार ठमेल पनि प्रभावित भयो । विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो । सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन् । त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन् । 

पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन् । त्यसैले पनि ठमेल क्षेत्र पर्यटक विहिन बनेको छ । तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् । त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवासयीहरुले बताएका छन् ।

पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन् । सरकारले नेपालमा अएपछि क्वारेन्टाइन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाई छ ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो । त्यसैले ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन् । पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन् । कतिपय व्यवसाय बन्द भइसकेका छन् । त्यसैले ठमेलको चहलपहललाई बढाउन पनि पर्यटकलाई नेपाल आउन सहज हुने खालको नीति सरकारले अवलम्बन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस