छैटौँ राष्ट्रिय उद्योग दिवस : चितवनमा कोरोनाका कारण ११ प्रतिशत उद्योग बन्द

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १६ : ३६
छैटौँ राष्ट्रिय उद्योग दिवस : चितवनमा कोरोनाका कारण ११ प्रतिशत उद्योग बन्द

चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चितवनका ११.२० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका छन् । 
चितवन उद्योग संघले जिल्लाभरि कोभिड १९ अर्थात् कोरोना भाइरसको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणमा यहाँका ११.२० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका र खुल्ने अवस्थाको कुनै सुनिश्चितताको ग्यारेन्टी नभएको जनाएको छ । 

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले छैटौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा कोभिडको समयमा उद्योगीले कामदारको अभाव, उत्पादन विक्री वितरणमा समस्या, कञ्चा पदार्थको अभावजस्ता समस्या झेल्नुपरेको बताए । चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले भने, ‘कोभिडका कारण उद्योगीले धेरै समस्या झेल्नु परेको थियो, चितवनका ५५ प्रतिशत उद्योगले उद्योग परिसरमै क्वारेन्टाइन बनाई कामदार राखेर काम गरिएको थियो, पछिल्लो समय थोरै सहज महसुस गरेका छौँ ।’

उनका अनुसार चितवनका ३३ प्रतिशत उद्योगले आलोपालो प्रणालीमा कामदारलाई काममा लगाएर पूरै तलब दिएका थिए भने बाँकी उद्योगले कार्यको आधारमा तलबको व्यवस्थापन गरेका थिए । उद्योगीहरुले राज्यसँग कोभिड अवधिभर बैंक कर्जाको व्याजमा छूटको व्यवस्था, सहज रुपमा पुनर्कजाको व्यवस्था, कोभिडको उद्योग क्षेत्रमा परेको प्रभावका आधारमा आयकरमा छूटको व्यवस्था, कर्जा पुनर्तालिकीकरणको व्यवस्था, विदेशबाट कामदार ल्याउन सहज वतावरण बनाउन, औद्योगिक उत्पादन र आवश्यक कच्चा पदार्थ ल्याउने व्यवस्था गर्न माग गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्योग सञ्चालनमा विदेशबाट कामदार ल्याउनबाहेक अन्य सबैमा छूट रहेको बताए । उनले भने, ‘सुरुमा उद्योग सञ्चालन नगरी घरमै बस भनियो, तर कोभिडको असर लामो समयसम्म रहने अवस्था देखिएपछि सुरक्षित हुँदै उद्योग सञ्चालन गर्न भनियो ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले ओद्योगिक क्षेत्रको विकासमा भरतपुर महानगर लागिरहेको बताए । उनले भने, ‘उद्योगीहरुलाई विभिन्न करहरुमा छूटको व्यवस्था गरिएको छ, बहाल घर घटाइइको छ । उद्योगहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको छ ।’

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख घनश्याम पन्थी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापा, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख यादवनाथ आचार्य, जिल्ला तथ्यांक कार्यालयका तथ्यांक अधिकृत यज्ञमूर्ति भण्डारीलगायतले मन्तव्य दिएका थिए । 

समग्र उद्योगको अवस्थाबारे चितवन उद्योग संघको तर्फबाट उपाध्यक्ष युगराज वस्ती, भरतपुर महानगरको तर्फबाट उद्योग शाखा प्रमुख अनुज घिमिरेले चित्रण गरेका थिए । कार्यक्रममा दुई उत्कष्ट उद्योगीलाई सम्मान गरिएको थियो । भरतपुर ४ चितवन स्थित जस्मिन पेन्टस् र भरतपुर १२ मा रहेको गौरव नेपाल इन्जिनियरिङ प्रालिलाई सम्मान गरिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस