कोरोना संक्रमितलाई रेडक्रसको न्यानो सहयोग

बागीश्वरी आइसोलेसन केन्द्रमा दाताहरुको माया बढ्दै

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, ११ : ५३
कोरोना संक्रमितलाई रेडक्रसको न्यानो सहयोग

चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले बागीश्वरी आइसोलेसन केन्द्रमा उपचाररत संक्रमितहरुलाई जाडोमा न्यानोका लागी सहयोग सामग्री प्रदान गरेको छ ।

आइतबार भरतपुर १ बागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा शाखाले २५ थान कम्बल र १० थान त्रिपाल सहयोग गरेको हो । रेडक्रस शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गर्दै थप सहयोगका लागि सोसाइटीको केन्द्रमा कुराकानी भइरहेको बताए ।

सो अवसरमा बोल्दै भरतपुर १४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले चिकित्सालयमा बिरामीले सेवा सुविधा राम्रो पाइरहेको बताउँदै यस्ताखाले सहयोगले आगामी दिनहरुमा बिरामीलाई झनै राहत मिल्ने भन्दै खुसी व्यक्त गरे ।

भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले यो आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरुप्रति आभार प्रकट गरे । कुँवरले प्राप्त सहयोगहरुले केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा महानगरलाई राहत मिलेको जानकारी दिए ।

उपचाररत संक्रमितहरु समेतको सहभागिता हुने गरी आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकामा ३४६ निको भएर घर फर्किसकेको जानकारी दिए । 

उनले यसअघि पनि आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट २ थान सि प्याप मेसिन, लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन, गृह मन्त्रालयबाट २२ लाख मूल्य पर्ने टेन्ट, रोटरी क्लबबाट गिजर, खेलसामग्री, हेलोजन बत्ती सहयोग प्राप्त भएको जानकारी दिए । 

डा. कोइरालाले लायन्स क्लब र केदार श्रेष्ठबाट ३०÷३० थान कुर्सी, नारायणगढस्थित लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भइ गएका मनोज बरनवालबाट ५ थान कुर्सी सहयोग भएको बताए ।
बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बागीश्वरी चिकित्सालयमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुणपीडित भण्डारी, प्रदेश सांसद् विजय सुवेदी डा. भोजराज अधिकारी लगाएत जिल्लाका जनप्रतिनिधि र प्रशासकहरुको निकै सुझबुझ र पहलकदमीमा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रलाई विभिन्न दाताहरुले पनि सहयोग पुर्याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस