राष्ट्रपति र प्रधानमन्त्रीद्धारा मताधिकार प्रयोगका लागि आह्वान

आइतबार, १० मंसिर २०७४, १० : ४१
राष्ट्रपति र प्रधानमन्त्रीद्धारा  मताधिकार प्रयोगका लागि आह्वान

   काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गरेकी छिन् ।

    पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबारदिएको  सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी छिन् ।

    राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

“सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु” प्रधामन्त्रीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस