सार्वजनिक सवारीसाधनमा अब ‘अनलाइन मोनिटरिङ’

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : १०
सार्वजनिक सवारीसाधनमा अब ‘अनलाइन मोनिटरिङ’

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको छ । लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बिहीबार मन्त्रालयमा उक्त सिस्टमको उद्घाटन गरे ।

बदलिँदो परिस्थितिमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न उक्त प्रणालीले ठूलो सहयोग गर्ने उनले जानकारी दिए । सार्वजनिक यातायातलाई नवीनतम रूप दिँदै आधुनिक प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्छ,’ मन्त्री नेम्बाङले भने, ‘यस क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक छ ।’ यातायात क्षेत्रका धेरै अधिकार प्रदेशअन्तर्गत छन् । कानुन अनि नीति तर्जुमा भइरहेका छन् ।

केही नीतिगत कुरा संघमा पनि छन् । सार्वजनिक यातायातलाई एकीकृत, पारदर्शी, प्रविधिमैत्री र भरपर्दो बनाउन यातायात प्राधिकरणको परिकल्पना गरिएको उनले बताए । सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

अनलाइन मोनिटरिङले यातायातको व्यापारलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘यसले कुनै घोटाला हुन दिने छैन,’ मन्त्री नेम्बाङले भने, ‘कुन गाडी कहाँ आयो, कहाँ जाँदै छ, सबै थाहा हुनेछ ।’ सिस्टमले सार्वजनिक सवारी चलाउने व्यवसायीलाई निर्धक्क बनाउने, त्यसमा कार्यरत कर्मचारीलाई ढुक्क बनाउने र यात्रुलाई भरपर्दो र सुरक्षित बनाउने उनले बताए ।

सबै सार्वजनिक यातायातमा अनलाइनबाटै टिकट लिने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सम्बन्धित गाडी कम्पनीले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्नेछ,’ उनले भने, ‘काउन्टरमा भीड गरेर टिकट लिनुको सट्टा घरमै बसेर अनलाइनबाटै लिने व्यवस्था हुनेछ ।’ यसो गर्दा यात्रु नठगिने र सहज हुने उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस