भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

सोमबार, २८ फागुन २०७४, १८ : १०
भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन । भरतपुर अस्पतालले आफँैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको उहाँले बताउनुभयो ।

पाइपलाइनमार्फत अस्पतालका अक्सिजन आवश्यक पर्ने विभागमा आपूर्ति गरिएपछि सिलिण्डरमा निर्भर हुन नपर्ने भएको उहाँले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गतवर्ष स्वास्थ्यमन्त्री गगनकुमार थापा हुँदा नै बजेट विनियोजन भएको भए पनि बढी पैसा बोलपत्र हाल्नेले मुद्दा दिएपछि काममा ढिलाइ भएको बताउनुभयो ।

रु एक करोड ९२ लाख बोलपत्र हालेको कमलेश इन्टरप्राइजेजले रु एक करोड ४६ लाख टेण्डर हाल्ने टेक्निकल एशोसिएट्स सर्भिसेज प्रालिले प्रक्रिया नपु¥याएको भन्दै मुद्दा हालेपछि समयमै फैसला नहुँदा काममा केही ढिलाइ भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पूर्वमन्त्री थापाले अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले तत्काल काम गर्न बजेटसहित निर्देशन दिनुभएको थियो । अस्पतालमा भर्ना भएका ६०० बिरामी, छ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया गरेका बिरामी, २० वटा सघन उपचार कक्षमा रहेका बिरामी, १२ वटा शिशु सघन उपचार कक्षमा रहेका बिरामी, ६० शय्याको मेडिकल वार्ड र १५ शय्याको वृद्धवृद्धाको वार्डमा अक्सिजन आपूर्ति गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताउनुभयो । यो प्लान्टबाट ५०० लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताउनुभयो ।

डेनमार्कको अक्सिमेट कम्पनीले उत्पादन गरेको यस प्लान्टबाट पाइपलाइन र सिलिण्डर दुवैमा ग्यास आपूर्ति एवं भर्न सकिनेछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने गरी उत्पादनको क्षमता रहेको बताउनुभयो । उहाँका अनुसार सरकारी तवरमा सम्भवतः काठमाडौँको वीर अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि भरतपुर अस्पतालमा प्लान्ट जडान भएको हो ।

कतिपय अस्पतालले बिरामीसँग अक्सिजन शुल्क लिने गरेको भए पनि भरतपुर अस्पतालले यसअघि पनि शुल्क नलिएको र अब पनि लिनुनपर्ने भएको मरासिनीले बताउनुभयो । हावामा अक्सिजन, नाइट्रोजन र अन्य ग्यास हुने गर्छ । अन्य ग्यासलाई हटाएर अक्सिजनमात्र बाहिर निकाल्ने प्रेसर स्विङ एडजप्सन प्रविधिबाट अक्सिजन ग्यास बाहिर निकाल्ने गरिन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस