अमादब्लममा आरोहीको आकर्षण

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, १६ : ५८
अमादब्लममा आरोहीको आकर्षण

सांकेतिक तस्वीर

काठमाडौँ । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।
     
यसअघि १४ पटक  सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गर्नुभएको छ । उहाँले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताउनुभएको छ ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,“बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढाँै ।”

पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउनुहुन्छ । “अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो ।  विदेशीले यो हिमाल आरोहण गरेका छन्”, उहाँले भन्नुभयो । शेर्पाका अनुसार शरद तथा आरोहणका लागि चर्चित वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले  अमादब्लम चढेका छन् । हालसम्म कति सङ्ख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन ।
     
वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् । यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको थियो । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । उक्त टोलीमा ६ विदेशी आरोही सदस्य थिए ।
  
कतारी राजकुमारसहितको आरोही टोलीलाई कात्तिक २९ गते पर्यटनमन्त्रीले बधाइ तथा मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको थियो । सो क्रममा राजकुमार अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्यताले आफू मोहित भएको जनाउँदै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने वाचा गर्नुभएको थियो ।
     
त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।
     
कोभिड –१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीको धारणा छ ।
     
कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताउनुभयो । यी आरोहणले सन् २०२१  वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उहाँको भनाइ छ ।
     एशियन ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाले महामारीकै बीच अमादब्लमलगायत अन्य हिमालमा विशिष्ट व्यक्तिको आरोहणले पर्यटनमा उत्साह जगाएको र व्यवसायीलाई आशावादी तुल्याएको बताउनुभयो । आरोहण, पदयात्रालगायत गतिविधिले पर्यटन छिट्टै पुरानै लयमा फर्किने उहाँको विश्वास छ ।
     
अहिले सेभेन समिट ट्रक कम्पनीबाट आरोही मिङ्मा शेर्पा अमादब्लम हिमाल आरोहणको क्रममा हुनुहुन्छ । अर्का आरोही टासीलाक्पा शेर्पाको टोली पनि अमादब्लम हिमाल आरोहणका लागि गएको छ । त्यस्तै अन्य कतिपय ससाना टोली आरोहणमा निस्किएका छन् । यही याममा एशियन ट्रेकिङबाट दावा स्टेभन शेर्पासहितको टोलीले मेरापिक र बरुन्छे हिमाल आरोहण गरेको छ ।
     
पर्यटन विभागको पछिल्लो विववरणअनुसार शरद ऋतुको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२  रोयल्टी सङ्कलन भएको छ । यस याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लममा दुई तथा बरुन्छेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरदमा १० देखि १२ आरोही समूूह पुग्ने विभागको अनुमान छ । सन् २०१९ को शरद याममा मात्रै एक हजार २१० विदेशी आरोही हिमाल आरोहणका लागि नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस