राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको त्यो १ घण्टा ४० मिनेट....

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, ०९ : ४४
राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको त्यो १ घण्टा ४० मिनेट....

काठमाडौं । पार्टीभित्रै अप्ठयारोमा परेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ उनले भण्डारीसँग झण्डै एक घण्टा ४० मिनेट भेटवार्ता गरेका हुन् । देशको कार्यकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट गर्नु स्वभाविक नै हो । प्रधानमन्त्रीले हरेक सातामा एक दिन नियमित भेट गरेर ब्रिफिङ गर्ने प्रक्रिया चलि आएकै छ । यसलाई राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नियमित भेटघाटका रुपमा अर्थयाउने पनि गर्छन ।

तर शनिबारको भेट भने अर्थपूर्ण छ । हुन त राष्ट्रपति कार्यालयले शनिबारको भेटवार्तालाई पनि नियमति भएको बताएको छ । तर शनिबारको बिदाका दिन भण्डारीसँगको भेट नियमित नभई अर्थपूर्ण रहेको नेताहरुको जिकिर छ । नेकपाभित्रको विवादमा सम्बैधानिक मर्यादा समेत भुलेर सधै हस्तक्षेपकारी भूमिका खेल्दै ओलीको संकट टार्ने सेतुको रुपमा काम गर्दै आएको भन्दै राजनीतिक वृत्तमा राष्ट्रपति भण्डारीको आलोचना हुदै आएको छ । उनले यस बीचमा ओलीको खड्को टार्न नेताहरुलाई बोलाउने, आश्वासन बाँडने र ओलीको पक्षमा उभ्याउन भूमिका खेलिदिने सम्मका काम खुलेआम गर्दै आएकी हुन् । 

कुनै बेला ओली समुहमै रहेकी र ओली अध्यक्ष हुदाँ उनकै क्याम्पबाट चुनाव लडेर उपाध्यक्ष बनेकी भण्डारी त्यसयता पनि राष्ट्रपति भन्दा ओलीकै सहयोगीको भूमिकामा देखिदै आएकी छिन् । ओलीले चाल्ने सम्वैधानिक र राजनीतिक काममा उनले राष्ट्रपतिको ओहोदामा बसेर के ठीक, के बेठिक नहेरी लालमोहर लगाईदिने गरेका कारण विवादमा तानिईरहेकी छिन् । यस अर्थमा पनि ओलीले चाल्न सक्ने कदममा उनले फेरि पनि साथ दिन सक्छिन भन्ने राजनीतिक वृत्तमा चर्चा चल्ने गर्छ । सोही कारण पनि शनिबार ओली र भण्डारीबीचको भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताले हेर्न थालेका छन् ।

भन्नलाई प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई २८ मिनेट भेटेको, ४० मिनेट भेटको जस्ता चर्चा पनि भईरहेका छन् । तर ओलीले राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा ४० मिनेट भेटवार्ता गरेको बालुवाटार स्रोतले खुलाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न ५ बजेर १० मिनेटमा शितल निवासमा पुगेका थिए । ओली पुग्ने बित्तिकै दुई नेताका बीचमा छलफल आरम्भ भएको स्रोतले बतायो । त्यसपछि ओली साँझ ६ बजेर ५० मिनेटमा मात्र शितल निवासवाट बाहिरिएको बालुवाटार स्रोतको भनाई छ । ‘प्रधानमन्त्रीले राष्ट्रपतिसँग झण्डै १ घण्टा ४० मिनेटको हाराहारीमा भेटवार्ता गर्नुभएको छ,’ बालुवाटार स्रोतले सफलखबरसँग भन्यो,–‘उहाँहरु बीच निक्कै गम्भीर विषयमा छलफल भएको बुझिन्छ । प्रधानमन्त्री ओली अलिक गम्भिर मुद्रामा शितल निवासवाट बाहिरिनुभएको थियो ।’

पार्टीभित्र कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएको र त्यसमा ओलीको प्रवृत्तिको मात्र आलोचना केन्द्रीत भएको देखेपछि ओलीले यसविरुद्धको रणनीति बनाउन आफु पक्षिय नेताहरुसँग बालुवाटारमा छलफल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । आफु पक्षिय नेताहरुसँग ओलीले प्रचण्डको प्रस्ताव पार्टी विभाजन उन्मुख भएर आएको, त्यही प्रस्ताव पार्टी कमिटिमा छलफल गर्दा आफ्नो पक्षलाई गम्भीर घाटा पुग्ने भएकोले पार्टीमा छलफल गर्नबाट रोक्नु पर्ने, प्रस्ताव फिर्ता नलिए बैठक बस्न दिन नहुने र आफ्नो सहमति बिना बैठक बसे त्यसपछि आफुले पनि कडा कदम चाल्नुपर्ने अवस्था आउने निश्र्कष सुनाएका थिए ।

तर प्रधानमन्त्रीले आफु पक्षिय नेताहरुलाई पनि आफुले चाल्ने त्यस्तो कडा कदम के हुने भन्ने खुलाएका छैनन् । तर राष्ट्रपति भण्डारीसँग भने उनले आफुले चाल्ने भनेको कडा कदमका बारेमा छलफल गरेको स्रोतको भनाई छ । ओलीले राष्ट्रपतिसँग प्रचण्डहरु अब सहमतिमा आउन नचाहेको भन्दै आफुलाई सधै घेराबन्दीको खेलमा मात्र लागेकोले अब आफुले पनि नछोड्ने गरी अगाडी बढन लागेको बताएको स्रोतको भनाई छ । उनले संसद विघटन गर्ने, मध्यावधी चुनाव घोषणा गर्ने र पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याउने विषयमा सोच बनाएको राष्ट्रपतिसँग बताएको जानकार सूत्र बताउछ ।

गत बैशाखमा पनि ओलीले दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याएका थिए । राष्ट्रपतिले अध्यादेश ओलीको सल्लाहमै सहज पारित गरिदिएकी थिइन् । तर त्यसको चौतर्फी विरोध भएपछि ओली आफै पछि हट्न बाध्य भएका थिए र विधेयक फिर्ता लिएका थिए । अहिले त्यही विधेयक पून अगाडी बढाउदा राष्ट्रपतिले आफु आलोचित हुने र कालान्तरमा त्यसले आफैलाई समेत अप्ठयारो पार्न सक्ने भएकाले आनाकानी गर्न सक्ने सूचना ओलीले पाएपछि राष्ट्रपतिलाई यस बारेमा प्रष्ट पार्न शितल निवास पुगेको स्रोतको भनाई छ । तर राष्ट्रपतिले भने सकभर पार्टीमा नेता विशेषलाई प्रलोभन र इतर समुहका नेताहरुलाई फुटाउने र आफु राज गर्ने रणनीतिमा ओलीलाई अगाडी बढ्न सुझाएको बुझिएको छ ।

त्यसका लागि उनले पूर्व एमाले समुहबीचको एकतामा जोड गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन्छ । आफ्नो तर्फबाट पनि योगदान गर्ने र ओलीलाई पनि सोही अनुसार अगाडी बढ्न आग्रह गरेको स्रोतको भनाई छ । ओलीलाई उनले वरिष्ठ नेता माधव नेपाललाई जुनकुनै पद दिएर भएपनि आफुसँगै एकताबद्ध बनाएर प्रचण्ड पक्षलाई पेल्ने रणनीतिमा जान सुझाएको बताइन्छ । त्यसो गर्दा आवश्यक परे प्रधानमन्त्री पद आफैसँग राख्न र माधव नेपाललाई अध्यक्ष पद छोडिदिन पनि उनले ओलीलाई सुझाएको बताईएको छ ।

तर ओलीले भने अहिले त्याग गर्ने भन्दा पनि आवश्यक परे देखाईदिनुपर्ने धारणा राखेको बताइएको छ । ओलीको जोड अध्यादेश अगाडी लैजाने, संसद विघटन गर्ने र मध्यावधिमा जाने तिर नै देखिएको स्रोतको भनाई छ । उनले त्यसका लागि अबको २ मंसिर सम्ममा कुनै निर्णयमा पुग्नुपर्ने अवस्थामा आफु आईपुगेको जानकारी राष्ट्रपतिलाई गराएर फर्केको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस