प्रधानमन्त्रीलाई डा गोविन्द केसीको जवाफ– मेरो उपचार म आफैँ गर्छु, नागरिकप्रतिको कर्तव्य पूरा गर्नूस्

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, १५ : १०
प्रधानमन्त्रीलाई डा गोविन्द केसीको जवाफ– मेरो उपचार म आफैँ गर्छु, नागरिकप्रतिको कर्तव्य पूरा गर्नूस्

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कोरोना संक्रमित प्राडा गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएको केही समयपछि डा केसीले आफ्नो उपचार कसैले गर्न नपर्ने आसय प्रकट गरे । 

प्रधानमन्त्री ओलीले गरेको स्वास्थ्यलाभको शुभकामनाप्रति डा केसीले धन्यवाद दिए । उनले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पूरा गर्न सरकारसँग आग्रह गरे ।

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा केसीले भने, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’ साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न मागसमेत गरेका छन् ।

‘हामीसँग पटक पटक गरिएका सम्झौता कार्यान्वयन भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए’ उनले विज्ञप्तिमा भनेका छन् ‘त्यहाँका नागरिकले कोरोनाका साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निशुल्क, सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए। तसर्थ १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछु।’ 


 

प्रतिक्रिया दिनुहोस