वाम गठबन्धन

कालिका नगरपालिकामा कृष्णभक्त र अविनाशको चुनावी घरदैलो

शनिबार, ०९ मंसिर २०७४, २१ : ४८
कालिका नगरपालिकामा कृष्णभक्त र अविनाशको चुनावी घरदैलो

चितवन । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताउनु भएको छ ।
चितवनको कालिका नगरपालिका क्षेत्रमा शनिबार भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका तयार गरेको भन्दै निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बताउनु भयो ।
सुकुम्वासी समस्या समाधान, खगेरी खोला, थाङ्खोला लगायतमा तटबन्धन, कालिका नगरपालिका क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्ने पनि आफ्नो मुख्य एजेण्डा रहेको पोख्रेलले बताउनु भयो । निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पनि आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै पोख्रेलले अब बन्ने वामपन्थी गठबन्धनको बहुमतको सरकारले जनभावना अनुसार काम गर्न सक्ने बताउनु भयो ।
एमाले जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले चितवनको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा उम्मेदवार रहेका वाम गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुने निश्चित भएकोले कांग्रेस गठबन्धनका उम्मेदवारहरु अत्तालिएको बताउनु भयो । उहाँले संयुक्त वामपन्थी गठबन्धनको देशैभर बहुमत आउने र पुस महिनामा वामपन्थीको सरकार बन्ने बताउनु भयो ।
प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहालले चितवनवासी जनताको हरेक सुखदुःखमा आफू रहिरहेको र रहिरहने बताउनु भयो । स्थानीयको समस्या समाधान गर्न सधैं प्रतिवद्ध रहेको भन्दै उम्मेदवार दाहालले सडक, ढल, सिंचाई, स्वास्थ्य, खानेपानी लगायतका सबै विकास निर्माण गर्नको लागि आफू लागिपर्ने बताउनु भयो ।
देशैभर वामपन्थी गठबन्धनको जनलहर बढेर गएको भन्दै उम्मेदवार दाहालले अब बन्ने सरकारले देशको आर्थिक विकासको लागि काम गर्ने बताउनु भयो । कार्यक्रममा ५० वर्षभन्दा बढी नेपाली कांग्रेसमा रही क्रियाशील रहेका र हालै नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएका चितवनका नेता त्रिलोचन पौडेलले कांग्रेसले यो देशमा केही गर्न नसकेको र अब पनि कांग्रेसले यो देशको विकासको लागि केही गर्न नसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस