कोरोनाले खेल तालिका प्रभावित

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १४ : ४४
कोरोनाले खेल तालिका प्रभावित

सांकेतिक तस्विर

काठमाडौँ । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे ।  तर कोरोनाले वर्षभरिको तालिका प्रभावित गराउँदा खेलाडीदेखि पदाधिकारीसम्म निरास छन् ।

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि अछुतो रहेन । विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस (कोभिड–१९) अझै नियन्त्रणमा आउन नसक्दा विकल्प खोजी भइरहेको छ । नेपालमा भने अझै सहज बन्न सकेको छैन, विकल्प पनि अझै सोचिएको छैन ।  तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् । फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशापन देखिएको छ ।  

सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यसअघि पूर्वाधारको चुनौतीका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडीदेखि सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयार रहेको स्पष्ट पारे । 

कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प¥यो । साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो । छिट फुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडी देखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिनाभन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ । सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यक्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस