अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडन : जसले पढाइको शुल्क तिर्न विद्यालयमै सरसफाइको काम गरे

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १४ : ३८
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडन : जसले पढाइको शुल्क तिर्न विद्यालयमै सरसफाइको काम गरे

काठमाडौँ । अमेरिकाको इतिहासमा जोसेप रोबिनेट बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपतिको रेकर्ड बनाएका छन् । राष्ट्रपतिको चार वर्षे कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् । महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै संसारकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिमा जितेका छन् । उनले राष्ट्रपतिको पदभार ग्रहण गर्न भने आउँदो जनवरीसम्म कुर्नुपर्छ ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो । उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएकी थिइन् । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो । दुई छोरा बो र हन्टर घाइते भएका थिए । बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो । पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राखे र संसारकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बनाइ छाडे । 

आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि वृद्ध उमेरको राष्ट्रपतिको रेकर्ड डोनाल्ड ट्रम्पले बनाएका थिए । तर, बाइडनले ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई मात्रै पराजित गरेनन्, उमेर हदको रेकर्ड पनि तोडिदिए ।

ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । सन् २०१६ राष्ट्रपति बन्दा ट्रम्प ७० वर्ष पूरा भएका थिए । उनी अहिले ७४ वर्ष पुगेका छन् । बाइडनको जन्म पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो । उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो । उनका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे । त्यही काम गरेर बाइडनलाई हुर्काएका थिए जोसेपले । 

स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडनले विद्यालयमै सरसफाइको काम गर्न परेको थियो । विद्यालयमा छुट्टी भएपछि निजी बगैंचा सफा गर्ने कामहरु गर्थे। बाइडन विपन्न परिवारमा धेरै संघर्षबाट अहिले यो स्थामा आइपुगेका हुन् । पढाइमा राम्रो रुचि राख्ने बाइडन फुटबलमा रुची राख्थे ।  प्रथम पत्नीको निधनपछि बाइडेनले जिल बाइडेनसँग दोस्रो विवाह गरे ।

सन् १९६८ मा बाइडेनले कानुनमा स्नातक गरे । त्यसपछि उनले एक ल र्फममा कानूनी अभ्यास गर्न थाले । साथै उनले डेमोक्रेटिक पार्टीको सक्रिय सदस्यता पनि लिए । सन् १९७० मा उनी न्यु कास्टलको कन्ट्री काउन्सिलमा निर्वाचित भए । बाइडन सन् २००८ मा राष्ट्रपति बाराक ओबामासँगै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।  त्यसपछिको आठ वर्ष उपराष्ट्रपतिका रुपमा काम गरेका उनले चार वर्षपछि राष्ट्रपतिमा जित हात पारेका छन् ।

बाइडन अमेरिकाको राष्ट्रपति बन्नका लागि गरेको तेस्रो प्रयासमा बल्ल सफल भएका हुन् । उनले तीन दशकभन्दा लामो समय अमेरिकाको माथिल्लो संसद् सिनेटमा बिताएका छन् । बाइडनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गरेका थिए । तर, त्यसको ३३ वर्षपछि उनी विश्वको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति बन्न पुगेका छन् ।
 

प्रतिक्रिया दिनुहोस