बाँकेमा एकैदिन चारजना कोरोना सङ्क्रमितको मृत्यु

रासस

शनिबार, २२ कार्तिक २०७७, १० : ३१
बाँकेमा एकैदिन चारजना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत चारजना कोरोना सङ्क्रमितको एकै दिन अस्पतालमै मृत्यु भएको छ ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ । 

सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारकोक्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस