अध्यक्षद्वयलाई किन भेट्दैछन् नेकपा कार्यदलका ६ नेता ?

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, ०९ : ४६
अध्यक्षद्वयलाई किन भेट्दैछन् नेकपा कार्यदलका ६ नेता ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चरम विवादलाई हल गर्न विगतमा कार्यदलमा रहेर काम गरेका नेकपाका ६ नेताले पार्टीका दुवै अध्यक्षलाई भेट्ने तयारी गरेका छन् । गत असार १० देखि जारी स्थायी समिति बैठकमा देखिएको चरम विवाद हल गर्ने दुई अध्यक्षले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए ।

त्यही कार्यदलले तयार पारेको प्रतिवेदनमै रहेर दुई अध्यक्षले त्यसबेलाको ७९ दिनको बिबाद हल गरेका थिए । कार्यदलमा महासचिव पौडेल, शंकर पोखरेल, पम्फा भुषाल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल थिए । अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका दुई दुई जना हुने गरी कार्यदल बनेको थियो ।

कार्यदलले दुई अध्यक्षको प्रष्ट कार्यविभाजन गर्दै पार्टीको महाधिवेशन सम्मका लागि के गरेर जाने भन्ने सम्मको रोडम्याप दिएको थियो । अन्ततः त्यही कार्यदलको प्रतिवेदनलाई दुई अध्यक्षले आफ्नो साझा प्रस्ताव वनाउदैं १५ बुँदे प्रस्ताव भदौं २६ मा परित गरेर अब पूरानो विवादमा नफर्किने प्रतिबद्धता जनाएका थिए ।

तर त्यसको हप्ता, दश दिन नबित्दै प्रधानमन्त्री ओली फेरि पूरानै स्वेच्छाचारि ढंगले अगाडी बढ्न थालेपछि नेकपामा फेरि विवाद देखिएको हो । मन्त्रिपरिषद् पूर्नगठन केन्द्र देखि प्रदेश सम्म ठोस एउटा मापदण्ड निर्धारण गरेर सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षले परामर्श गर्ने र सहमतिका आधारमा गर्ने निर्णय स्थायी समितिले गरेको थियो । त्यस्तै सम्वैधानिक राजनीतिक नियुक्तिहरु पनि सोही अनुसार गर्ने निर्णय स्थायी समितिको थियो । तर ओलीले राजदुत नियुक्ति, मन्त्रीमण्डल विस्तार जस्ता विषयमा आफुखुसी एकलौटी गरेपछि नेकपामा फेरि विवाद झांगिएको थियो ।

त्यसबीच ओलीकै धापमा कर्णालीका मुख्यमन्त्रीमाथी अविश्वास प्रस्ताव राख्ने देखि पर्सामा पार्टीका जिल्ला सदस्यको हत्यामा समेत ओली पक्षका नेता कार्यकर्ता लाग्न थालेपछि दुई अध्यक्षका बीचमा सम्बन्ध थप चिसिएको थियो । ‘रअ’का प्रमुखलाई बोलाउने र बालुवाटारमा भेट गर्ने जस्ता विषयमा उनले पार्टीसँग छलफल गरेनन, जनताको बहुदलीय जनवादको पक्षमा बहस चलाउन आफु निकट नेता कार्यकर्तालाई निर्देशन दिने काम उनले गरे ।

त्यसपछि पार्टी बैठक बोलाउन, गत भदौंको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्नका लागि पनि पार्टी बैठक बोलाउन गरेको मागलाई ओलीले अटेर गर्दै आईरहेका छन् । यो अटेरीपनले नेकपालाई विभाजनको डिलमा पुर्याएको छ । ओली पार्टी बैठक बोलाउन तयार नभएपछि थप बिबाद सिर्जना हुँदै पार्टी एकता नै संकटमा परेपछि कार्यदलमा रहेका सदस्यहरु फेरि जुर्मुराउन लागेका हुन् ।

कार्यदल सदस्य समेत रहेका सुरेन्द्र पाण्डेले भने,–‘पार्टीभित्रको समस्यालाई मिलाउन हिजोका कार्यदलमा रहेका सदस्यहरुले अध्यक्षहरुलाई भेटेर कुरा गर्ने की ? भन्ने छलफल गर्दैछौं । परिणाम जे आएपनि प्रयास भने जारी राख्नु राम्रो होला भन्ने लागेको छ ।’ उनीहरुले आजै दिनभर यो प्रयास गर्ने पनि जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस