बामदेव गौतमलाई भेटेको भोलिपल्टै राष्ट्रपतिले किन बोलाइन गृहमन्त्री रामबहादुर थापा ?

नेकपा विवादमा राष्ट्रपतिको सक्रिय चासो, प्रधानमन्त्रीको संकट टार्न नेकपा नेताहरुसँग थालिन् राजनीतिक भेटघाट, दुई दिनमा लगातार दुई सचिवालय सदस्यसँग गोप्य संम्वाद

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, ०९ : ५८
बामदेव गौतमलाई भेटेको भोलिपल्टै राष्ट्रपतिले किन बोलाइन गृहमन्त्री रामबहादुर थापा ?

काठमाडौं । सम्वैधानिक राष्ट्रपतिको भूमिका संविधानको संरक्षक मात्रै हो । राजनीतिमा उनको प्रत्यक्ष÷अप्रत्यक्ष संग्लनता संविधानले पदीय जिम्मेवारीमा रहदासम्म दिदैंन् । तर राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि हेर्दा त्यस्तो लाग्दैन । उनी सत्तारुढ दल नेकपाकै कुनै नेता जस्तो अझ भन्दा नेकपाभित्र प्रधानमन्त्री केपी ओलीको गुटका रक्षाकवच जस्तो भूमिकामा देखिने गरेकी छिन् ।

जतिबेला सत्तारुढ दलमा ओलीलाई अप्ठयारो पर्छ, तब प्रधानमन्त्री र राष्ट्रपति बीचको सल्लाहमै नेकपा नेताहरुको शितल निवासमा दौडधुप शुरु भईहाल्छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी नीति अवलम्बन गरेको भन्दै उनको आलोचना पनि हुन्छ । तर उनले त्यसलाई वास्तै नगरी आफ्नो पदीय जिम्मेवारी समेत भूलेर सक्रियता देखाउँछिन् । यो क्रम अहिले पनि राष्ट्रपति भण्डारीको रोकिएको छैन् ।

सत्तारुढ दल नेकपामा प्रधानमन्त्री ओली स्वेच्छाचारि ढंगबाट अगाडी बढेको र पार्टीका निर्णय कार्यान्वयनमा समेत अटेरी बनेको आरोप लागिरहेका बेला फेरि प्रधानमन्त्री ओलीमाथी संकट आईपरेको छ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु पार्टी निर्णय कार्यान्वयनका सवालमा फेरि पार्टी बैठकबाटै प्रधानमन्त्रीलाई घच्घच्याउनु पर्ने निश्र्कषमा पुगिरहदा ओली भने त्यसलाई निस्तेज तुल्याउन र आफ्नो पक्षमा माहोल के गर्दा बनाउन सकिन्छ भन्ने दौडधुपमा तिब्र भएर लागेका छन् ।

बालुवाटारको सरकारी निवासमा बसेर ओलीको दाउपेच नै यो दुई वर्षमा कसरी आफु सरकारमा टिक्ने र पार्टीभित्रका अन्य नेताहरुलाई तह लगाउने भन्नेमै केन्द्रीत भएको छ । आफ्नै पार्टीभित्रका नेताहरुमा फुट पार्ने र आफु बलियो बन्ने रणनीतिमा मात्रै ओलीका दिनचर्या बालुवाटारको खोपीभित्र बित्ने गरेका छन् । त्यसका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारी सम्मलाई समेत प्रयोग गर्ने गरेका छन् । राष्ट्रपति पनि के कम पहिले एमालेभित्रको उपाध्यक्ष जस्तै सक्रिय भएर ओलीमाथीको संकट टार्ने काममा सधै झै लागिपरेकी छिन् ।

नेकपामा मिलाप हुदा चुपचाप बस्ने राष्ट्रपति भण्डारी जब पार्टीभित्र ओलीलाई अप्ठयारो र संकट आईलाग्छ, तब सक्रिय भएर लाग्छिन् । अहिले पनि उनी त्यसैगरी सक्रिय हुन थालेकी छिन् । राष्ट्रपतिले ओलीको संकट टार्नका लागि विगतमा बीच बीचमा बसेर भूमिका खेलिरहेकी पात्रलाई छान्ने गर्छिन र त्यही अनुसारको रणनीति बनाउन शितल निवासमा आमन्त्रण गर्ने र छलफल गर्ने गरेकी छिन् । त्यही क्रममा उनले आफै त्यस्ता नेता तथा पात्रको छनौट गर्छिन र शितल निवासमा बोलाएर अनेक खाले छलफल गर्छिन । ओलीको बचाउका लागि रणनीति समेत बनाउछिन् । यतिबेला फेरि उनको सक्रियता बढेको छ ।

राष्ट्रपति भण्डारी आफैंले यो दुई दिनमा नेकपाका सचिवालयका दुई नेतालाई बोलाएर शितल निवासमा घण्टौं गफ गरेकी छिन् । मंगलबार उनले उपाध्यक्ष वामदेव गौतमलाई आफैले टेलिफोन गरेर बोलाई भेट गरेकी थिइन् । त्यसको भोलिपल्टै हिजो बुधबार उनले प्रधानमन्त्री ओलीसँग भेट गरेपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामवहादुर थापा (बादल) लाई पनि बोलाएर छलफल गरेकी छिन् । बादललाई पनि उनले आफै टेलिफोन गरेर भेट्न बोलाएकी हुन् । पार्टी एकता बचाउन तपाईले भूमिका खेल्नुहोस भनेर वामदेवसँग भनेको विषय गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले गौतमको भनाई उद्धृत गर्दै सञ्चारमाध्यमलाई बताएका थिए ।

त्यस्तै आग्रह राष्ट्रपति भण्डारीले बादलसँग पनि गरेकी छिन् । भण्डारीले नेकपाभित्र जब विवाद देखा पर्छ, ओलीको संकट टार्नका लागि यस्ता पात्रसँग भेट गर्छिन्, जसले ओलीका लागि यस अगाडी पनि त्राण धानिदिएका हुन्छन् । नेकपा सचिवालयमा जहिले पनि ओलीको संकट उपाध्यक्ष गौतम र सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा (बादल)को मध्यमार्गी धारका कारण मात्र जोगिएको छ । अहिले पनि राष्ट्रपति भण्डारीले गौतम र बादललाई फकाएर ओलीको संकट टार्नका लागि पहल थालेकी हुन् । त्यसक्रममा उनले दुवै नेताहरुलाई पार्टी एकता बचाउन तपाईहरुको भूमिका महत्वपूर्ण रहेको र सोही अनुसारको भूमिका निर्वाह् गर्न आग्रह गरेकी थिइन् ।

राष्ट्रपतिले भेट्न बोलाएपछि अघिल्लो र पछिल्लो दिनमा शितल निवास पुगेका गौतम र थापाले आफुले सक्दो पार्टी एकता जोगाउन भूमिका खेल्ने भन्दै फर्किएका थिए । राष्ट्रपतिसँगको भेटपछि अब यी दुई नेताको भूमिका नेकपाभित्रको विवादमा कुन कित्तामा हुन्छ भन्ने केही दिनमै प्रष्ट हुने देखिन्छ ।

त्यसो त यो ओलीसँगकै सल्लाहका आधारमा राष्ट्रपति भण्डारीले भेटघाटका सिलसिला चाल्ने गरेको पनि नेकपाभित्र चर्चा चल्ने गर्छ । ओलीले आफ्नो अप्ठयारो फुकाउन प्रदीप नेपाल कँहा आफ्ना दूतहरु पठाएर माधव नेपाललाई फकाउन गरेको आग्रह देखि जबजको हबस ल्याएर पूर्व एमाले पङक्तिलाई एक बनाउने सम्मका अस्त्र अहिले फँयाकेका छन् । यसले पनि नेकपाको राजनीति कस्तो अवस्थामा पुग्छ भन्ने अनुमान अहिले नै लगाउन सक्ने अवस्था देखिएको छैन् ।
 

प्रतिक्रिया दिनुहोस