कोरोनामुक्त भएर बागेश्वरी आइसोलेसन केन्द्रबाट २ सय ५० जना फर्किए घर

कोरोना संक्रमणमुक्त हुनेहरुलाई बिदाई गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल, संक्रमितको उपचारमा महानगर लागिपर्ने प्रतिवद्धता

प्रकाश सिग्देल

बुधबार, १९ कार्तिक २०७७, १२ : ४३
कोरोनामुक्त भएर बागेश्वरी आइसोलेसन केन्द्रबाट २ सय ५० जना फर्किए घर

चितवन । भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र बागेश्वरीबाट बुधबार ८ जना निको भई घर फर्किएका छन् । निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । 

यो केन्द्रमा हालसम्म ३ सय १० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म २ सय ५० जना निको भएर घर फर्किएका छन् । बुधबारको बिदाई १७ औं भएको चिकित्सालयका पदाधीकारी बताउँछन् । 

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १, बागेश्वरीमा भरतपुर महानगर प्रमुख रेनु दाहालको पहलमा २०७७ कार्तिक १४ गतेदेखि महानगरको सहयोगमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको हो । यहाँबाट हालसम्म कुनै पनि बिरामी रिफर गरेर बाहिर पठाउन नपरेको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनु भयो । 

यहाँ संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घन्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको निर्देशक कोइराला बताउनु हुन्छ । भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजन गराइने गरेको छ । योग, ध्यान, सत्संग पनि नियमित हुने गरेको कोइराला बताउनु हुन्छ । यहाँको वातावरणले बिरामीको मनोबल उच्च भई बिरामीहरु शत प्रतिशत निको भएको डा. कोइरालाको भनाई छ ।

भरतपुर महानगरले सञ्चालन गरेदेखि आजका दिनसम्म प्राकृतिक चिकित्सालय प्रभावकारी रूपमा सञ्चालन भइराखेको र यहाँबाट निको भएर जानेहरुले आफुलाई निकै भाग्यमानी महसुस गर्ने गरेको आईसोलेसन केन्द्रका संयोजक तथा भरतपुर महानगर वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले बताउनु भयो ।

यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको संचालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण ब्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।

बिरामीको उपचारमा प्राकृतिक उपचार पद्धति सार्थक साबित भएको दाहालको भनाई छ । योग र प्राकृतिक चिकित्सा पद्धतिलाई अझै ब्यापक र बिस्तार गर्न आफू लाग्ने समेत दाहालले बताउनु भयो ।

यो विश्वब्यापी महामारीसँग लडी महानगरवासीको जीवनरक्षाको लागि भरतपुर महानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताउँदै मेयर दाहालले केन्द्र संचालनको लागि सबै प्ररकारको प्रबन्ध गरेको बताउनु भयो । उहाँले संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भनेपनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पिसिआर परिक्षणदेखि उपचार निःशुल्क रुपमै गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्र देशकै नमुना भएको दाबी गर्नुभयो । राज्य हुनुको सॉचो अनुभूति भरतपुर महानगरपालिकाले देखाएको बताउँदै उहाँले यो कार्यको लागि आफू यस क्षेत्रको जनप्रनिधिको हैसियतले भरतपुर महानगर प्रमुख रेनु दाहालसहित भरतपुर महानगरपालिका परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कोरोना संक्रमितको उपचारमा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति सार्थक बनेको पोखरेलको भनाई छ । महामारीको अवस्थामा नागरिकको उपचार राज्यले गर्दिन भन्न नपाउने पोखरेलको भनाई छ । नागरिकको जीवनरक्षाको दायित्वबाट राज्य कहिल्यै पछि हट्न नहुने बताउँदै उहाँले राज्यले गरेको निर्णय सच्याएर नागरिकप्रतिको दायित्व पूरा गर्ने बाटोमा राज्य अगाडि बढ्नु पर्ने तर्क समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस