विचार

डिसेम्बर आठ : अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस किन ?

सोमबार, १७ कार्तिक २०७७, १२ : १३
डिसेम्बर आठ : अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस किन ?

– राधा पौडेल

महिनावारी प्राकृतिक अवस्था भएतापनि सबै जात, बर्ग, क्षेत्र, धर्म आदिमा महिनावारीलाई अशुद्ध, फोहोर रगत स्थापित गर्दै विभिन्न नाम र तहमा (देखिने, नदेखिने, धेरै, थोरै आदि) निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् । यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगार, सरसफाई आदिमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै सिंगो परिवार र समाजलाई असर पारेको तथ्य अनुभव र अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् । 

Yeti Diistillery Tansen Cement box

नेपाल सरकारले सन् १९९१ मा अनुमोदन गरेको पहिलो महिला अधिकारको महासन्धि सिड १९७९ मा उल्लेख भएका ३० धाराहरुमध्ये धारा एकदेखि १६ सम्म अविभेद, लैंगिक समानता, राजनीतिमा अधिकार, शिक्षा, स्वास्थ्य र विवाह उल्लेख गरिएको छ । अर्काे शब्दमा यदि आफै वा कसैको करकापमा परेर महिनावारी बारिएको अवस्था सिडमा उल्लेख गरिएका महिला अधिकारको हनन हो, जसलाई सयुक्तराष्ट्र संघको साधारण सभा (१९९३) ले मानव अधिकारको हनन भनेर घोषणा गरेको छ । 

महिनावारी निषेध, लाज, बार्नुपर्ने अभ्यास वा विभेदका कारण महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगार, आदिमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै सिंगो परिवार र समाजलाई असर पारेको हुन्छ । परिवार नियोजन, आमा र बच्चाको स्वास्थ्यमा पनि महिनावारी बार्ने अभ्यासले असर गर्दछ, जसलाई सन् १९९४ बाट प्रजनन स्वास्थ्य अधिकारको रुपमा स्वीकारियो । सन् १९९६ मा विश्व स्वास्थ्य संगठनले महिलाहरुमाथि विशेष गरेर आत्मीय साथी वा यौन दुब्र्यवहारलाई ‘सामुदायिक स्वास्थ्य समस्या’ स्वीकार्दै गम्भिरतापूर्वक काम गर्न अपिल गर्याे । सन् १९९९ मा सयुक्त राष्ट्रसंघले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाहरु विरुद्ध हुने हिंसा विरुद्धको १६ दिने अभियान घोषणा गर्याे ।

विश्वको आधाभन्दा बढी जनसंख्यामा विभिन्न तरहले जीवनभर नै प्रभाव, विभेद र हिंसा भोगिरहेको जटिल र बहुमुखी महिनावारी बार्ने अभ्यास मानव अधिकारको विश्वब्यापी घोषणा (सन् १९४८) देखि नै मौनता रहनु दुःखद भएको अवगत गराउँदै राधा पौडेल फाउन्डेसन, दक्षिण गोलाद्र्धयीय मर्यादित महिनावारी संजाल र यसका साझेदार संस्थाहरुले मानव अधिकार महिना डिसेम्बरको ८ लाई मर्यादित महिनावारी दिवस शुरुवात गर्दैगर्दा नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यसलाई अनुमोदन गर्दै छाउगोठ अन्त्य गर्दै मर्यादित महिनावारीमा नेतृत्व गर्ने घोषणा गर्दै सयुक्त राष्ट्र संघमा डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस घोषणा गर्न अनुरोध गर्ने प्रतिबद्दता भयो ।

मर्यादित महिनावारी ‘महिनावारीसंग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुब्र्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो ।’ महिनावारी भएका बेला सबै महिलाले मर्यादापूर्वक जिउन पाउनु पर्ने मानव अधिकारको वकालत गर्दछ । मर्यादित महिनावारीमा सामान्यतया २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा, हुनु हुँदैन । मर्यादित महिनावारी भनेको प्याड वा सरसफाई र संरचनाभन्दा बृहत धारणा र कार्यशैली हो जहाँ स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, वातावरण, सशक्तिकरण, शान्ति, र विकाश संगसंगै गएको अवस्था हो ।

छोटकरीमा मर्यादित महिनावारी एक खाका हो जसले महिनावारी सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर र मौनतालाई घरघरबाट, टोलटोल, स्कुलस्कुल वा जहाँतहीँबाट महिनावारीको जैविक महत्वको बारेमा बाबु, छोरी, आमा, छोरा, दिदी, भाइ आदिबीच वार्ता र बहसको माग गर्दछ । मर्यादित महिनावारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसंस्कारलाई फोर्दै, चिर्दै सशक्तिकरण गर्दछ । जहाँ पीडितहरु अभियानकर्मी हुन्छन् र राज्यले उनीहरुलाई सम्मान गर्दछ । 

मर्यादित महिनावारी संसारमा नै पहिलो, नयाँ र बृहत्तर अवधारणा हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ (मस्यौदा) तयार गरी काम गरेको छ । यसमा विशेष भूमिका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको छ । 

मर्यादित महिनावारी दिवस डिसेम्बर ८ नै किन ?

विश्वब्यापी अवधारणाको आधारमा

१) दिगो विकास लक्ष्य २०३०
सन् २०१५ देखि संसार नै दिगो विकास लक्ष्य २०३० को लागि मरिमेटेको परिप्रेक्ष्यमा मर्यादित महिनावारीको उल्लेखनीय भूमिका छ । किनभने दिगो विकास लक्ष्यहरु (१. गरिबी, २. शुन्य भोक, ३. सुस्वास्थ्य, ४. गुणस्तरीय शिक्षा, ५. लैंगिक समानता, ६. स्वास्थ्य, पानी र सरसफाई, ७. सम्मान काम र ८. आर्थिक वृद्धि) का लक्ष्य प्राप्त गर्न मर्यादित महिनावारी प्रत्यक्ष र अप्रत्यक्ष पूर्व शर्त हुन् ।

२) विश्वब्यापी लैङ्गिक हिंसाको परिभाषाको आधारमा
सामन्यतया संसारभर नै लैंगिकतामा आधारित हिंसा भन्नाले कुनै पनि हिंसाउन्मुख क्रियाकलाप जसले व्यक्तिलाई शारीरिक, यौनिक, मनोवैज्ञानिक असर वा पीडा दिनुका साथै उसको निजी वा सार्वजनिक जीवनमा स्वतन्त्रतामाथि अड्चन दिन्छ भन्ने बुझिन्छ । महिनावारी सम्बन्धी नकारात्मक सोच, धारणा र अभ्यासका कारण महिनावारी हुने व्यक्तिहरुको व्यक्तिगत, पारिवारिक र सामाजिक शान्ति भंग भैरहेको हुन्छ । 

३) १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान
संसारभर नै नोभेम्बर २५ देखि डिसेम्बर १० लाई १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाइन्छ । महिनावारीका समयमा वा महिनावारीका कारणले हुने सबै विभेद, हिंसा, छुवाछुतलाई सम्बोधन गर्दै शक्ति निर्माण प्रकियालाई पुनः निर्माण गरी आम महिनावारी हुने व्यक्तिहरुको मर्यादापूर्वक जिउन पाउने अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि महासन्धिको उपयोग गर्न ।

४) मानव अधिकार महिना 
डिसेम्बर महिनालाई मानव अधिकार महिनाको रुपमा संसारभर नै स्वीकार गरिएको छ । तसर्थ माथिको बुँदा १, २ को साथसाथ महिनावारी भएका बेला मर्यादापूर्वक जिउन पाउने अधिकार भएकोले डिसेम्बेर ८ वा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको १४ औं दिनमा समावेश गरेर महिनावारीको महत्व र अस्तित्वलाई बृहत बनाउन ।

राष्ट्रिय अवधारणाको आधारमा

१) नेपालको संविधानका आधारमा
नेपालको संविधानमा १० वटा मौलिक अधिकारहरु (धारा १६ मर्यादापूर्वक जिउन पाउने अधिकार, धारा १७ स्वतन्त्रताको अधिकार, धारा १८ समानताको अधिकार, धारा २४ अविभेदको अधिकार, धारा ३० स्वस्थ्य र वातावरणको अधिकार, धारा ३१ शिक्षाको अधिकार, धारा ३५ स्वास्थ्यको अधिकार, धारा ३६ खानाको अधिकार, धारा ३७ आवासको अधिकार, धारा ३८ महिलाको हकको अधिकार) प्रत्यक्ष रुपमा मर्यादित महिनावारीसँग सम्बन्धित छन् । यी अधिकारहरु संवैधानिक अधिकार त हुन् नै सर्वमान्य, अन्तर्रास्ट्रिय मानव अधिकारका दस्तावेज अनुसार अविभाज्य मानव अधिकार पनि हुन् ।

२) घरेलु हिंसा कसुर ऐन २०६६ को आधारमा
घरेलु हिंसा कसुर ऐन अनुसार महिनावारीको समयमा नेपालमा घरपरिवारले गर्ने छुवाछुत, विभेद, हेलाहोचो सबै नै हिंसा भएकोले त्यसको रोकथाम वा न्यूनीकरण गर्न ।

३) अन्तर्राष्ट्रिय प्रतिवद्धता कार्यान्वयन गर्न
बालबालिका, महिला, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास आदिमा नेपाल सरकारले गरेको प्रतिवद्धत्ता कार्यान्वयन गर्न ।

४) समाजमा छोरीहरुको आत्मबल बढाउन
दिनको कम्तीमा पनि सात बलात्कार हुनु, ८५ प्रतिशत हिंसा बालिका वा महिलामाथि, ८२ प्रतिशत चिनेजानेको व्यक्तिबाट हुने गरेको सन्दर्भमा राज्य जवाफदेही रहँदै छोरीहरु र उनका परिवारमा आत्मविश्वास बढाउन जरुरी भएकोले ।  

५) नेपालको पहिचान छाउपडीको देशबाट मर्यादित महिनावारीको देश बनाउन
महिनावारी बार्ने कारणले एकातिर हिंसा, बलात्कार बढ्दै जानु र पश्चिम नेपालमा छाउगोठमा महिलाहरु मर्नुले विश्व मानचित्रमा नेपालको छवि नराम्रो वा छाउपडीको देशले चिनिरहेको अवस्थामा मर्यादित महिनावारीको उद्गम देशले चिनिएको छ । 

६) महिनावारीमा नयाँ सिद्धान्त
संसारमा नेपाल नै त्यस्तो देश हो जसले मर्यादित महिनावारीको अवधारणा (२०७४ सालदेखि) वा उच्चतम वा बृहत अवधारणा शुरु गर्दै नीति (मस्यौदा), कार्यदिशा, कानुन र विभिन्न कार्यक्रमहरु शुरु गर्दै २०६७ देखि अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन थालेको छ । जसमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्व रहेको छ ।  

७) प्रजनन अधिकारको मूल प्रस्थान बिन्दु
मर्यादित महिनावारीबिना प्रजनन अधिकार सम्भव नै छैन, न बालविवाह न्यूनीकरण नै सम्भव छ । किनभने महिनावारी एकदम जटिल, बहुमुखी जैविक प्रक्रिया हो ।

८) विश्वस्तरमा नेपालको नेतृत्व
राधा पौडेल फाउन्डेसन र दक्षिण गोलाद्र्धयीय मर्यादित महिनावारी संजालले आठ वटा च्याप्टर अन्तर्गत उत्तरी अमेरिका, इन्डोनेसिया, युगान्डा, अस्ट्रेलिया, श्रीलंका, फिलिपिन्स, बेलायत, फिजीमा मर्यादित महिनावारीमा काम गरिरहेको छ । मर्यादित महिनावारीको किताबहरु, संकेत सबै नेपालले बनाएको हो ।
(लेखक मर्यादित महिनावारी अभियन्ता हुन् ।)