बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।
लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बद्लिएको छ”, प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, “सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।”
जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ । बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौै वर्षीय शेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता हुन् ।
त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, तीन वर्षीया करली पुन, आठ वर्षीय मोहन विक र १२ वर्षीया समुन्द्र विक बेपत्ता हुन् ।
बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०७७, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च