अंकरा । टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा ७०९ जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले त्रसित नहुन, सुरक्षा र सतर्कता अप्नाउन पनि सवैलाई आग्रह गर्नुभएको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र अरु विवरण पनि आउने क्रममै रहेको उहाँले जानकारी दिनुभयो । अधिकारीहरुले अरु धेरै मानिसहरू पुरिएको हुनसक्ने आशामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् ।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो । टर्कीमा बेला बेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।
टर्की र ग्रिस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गर्नुभएको छ । उहाँहरुका बीचमा क्षतीको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसैबीच, अफगानिस्तानमा पनि ४.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा आएको भूकम्पको कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारले जनाएको छ । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ कार्तिक २०७७, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का