कोरोनाले लियो ज्यान : एक जनालाई घरमा, अर्कोलाई अस्पतालमा

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, १७ : २८
कोरोनाले लियो ज्यान : एक जनालाई घरमा, अर्कोलाई अस्पतालमा

सांकेतिक तस्विर

पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार मृत्यु भएकामध्ये एक जनाको होम आइसोलेसनमा र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् ।

उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् ।

यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार नै मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार बिहान उनको होम आइसोलेसनमा निधन भएको हो । उनमा १२ गतेमात्रै कोरोना पुष्टि भएको थियो ।

पछिल्लो विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने ७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस