देवघाटको भुजेल बस्तीलाई नमूना गाउँ बनाउँदै रोटरी

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, १५ : ०३
देवघाटको भुजेल बस्तीलाई नमूना गाउँ बनाउँदै रोटरी

तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको भुजेल बस्तीलाई रोटरी क्लब अफ नारायणगढले नमुना बस्ती बनाउने भएको छ।

आज रोटरी क्लब अफ नारायणगढले प्रमाण पत्र हस्तान्तरणको एक कार्यक्रम आयोजना गरि साउने आर सि सि व्यवस्थापनका अध्यक्ष आईतमाया भुजेललाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले संयुक्त रूपमा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको पिछडिएका वर्ग भुजेल समुदायलाई नमुना बस्ती बनाउन रोटरी क्लब अफ नारायणगढ अगाडि बढेकोमा खुशी व्यक्त गर्दै देवघाट गाउँपालिकाको पनि साथ र समन्वय रहने बताउनुभयो । उहाँले देवघाट गाउँपालिकाको विकास निरन्तर रुपमा अगाडी बढिरहेको बताउदै आगामी दिनहरुमा पनि देवघाट गाउँपालिकाको विकासको लागि कुनै पनि कसर बाकी नराखी विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने विश्वास ब्यक्त गर्नुभयो । 

देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले पनि देवघाट वडा नम्बर ५ साउनेमा रहेको भुजेल बस्तीको विकासको लागि वडाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।  

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले देवघाट साउनेका पिछडिएको वर्ग भुजेल बस्तीमा भएका समस्यहरुलाई बिस्तारै समाधान गरि नमुना बस्ती बनाउने बताउनुभयो । 

कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पदाधिकारीहरुलाई देवघाट गाउँपालिका भित्र गरेको कामहरुको उच्च मुल्यांकन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले सम्मान समेत गरेको थियोे ।

कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरन्जन प्रधान, रोटरी क्लब अफ नारायणगढका निर्वाचित अध्यक्ष अरुण खनाल, रोटरी क्लब अफ नारायणगढका सर्भिस प्रोजेक्ट चेयर गुणेश्वर महतो, देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगाना, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रेडियो देवघाटका स्टेशन म्यानेजर सुबास लामिछाने, साउने जलदेवी आमा समुदायका अध्यक्ष आसमाया गुरुङ लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रम साउने आर सिसि ब्यबस्थापन संस्थाका अध्यक्ष आईतमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस