तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १५ : २४
तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा

काठमाडौं ।  बन्द रहेको तातोपानी नाका आजबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

नाका खुलेको संकेत स्वरुप आज एउटा मात्रै कन्टेनर नेपाल आउने र भोलिदेखि कम्तिमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान नेपाली यार्डसम्म ल्याइदिने भन्सार कार्यालयले जनाएको छ । बुधबारदेखि नै नाका खुला गर्ने सहमति भएपनि प्राविधिक कारणले कन्टेनर नेपाल आउन सकेको थिएन । 

नाका सञ्चालन गर्न अपनाइएको स्वास्थ्य प्रोटोकलअनुसार नेपाली पक्षले नेपाली भूभागमा तयार पारेको आइसोलेसनमा चिनियाँहरुले सामान खसाल्नेछन् । चीनबाट आएको सामान २४ देखि ४८ घण्टासम्म क्वरिन्टिनमा राखिनेछ र त्यसपछि मात्रै नेपालतर्फ ढुवानी गरिनेछ ।

चीनबाट आएको सामान लोड गर्न तथा नेपालतर्फ ल्याउनका लागि तीन वटा समूहमा श्रमिकहरुलाई नेपाली पक्षले पीसीआर गरेर क्वारिन्टिनमा राखेको छ । भन्सारमा आएको सामान लोड अनलोड तथा ढुवानीका लागि खटिने श्रमिकको पीसीआर रिपोर्ट हरेक १४ दिनमा बुझाउनुपर्ने सर्त चिनियाँ पक्षले राखेको छ । नेपालबाट चीनतर्फ कोरोना सर्न सक्ने भन्दै चीनले गत असोज २० गतेदेखि नाकाबाट हुने मालवस्तु ढुवानी रोकेको थियो । 

प्रतिक्रिया दिनुहोस