पोखराका गुरुङको चितवनमा ड्रागनखेती : ड्रागन फुडको केन्द्र चितवन बन्ने बागमती प्रदेशका कृषि मन्त्रीको उद्घोष

प्रकाश सिग्देल

विहीबार, १३ कार्तिक २०७७, १४ : ०८
पोखराका गुरुङको चितवनमा ड्रागनखेती : ड्रागन फुडको केन्द्र चितवन बन्ने बागमती प्रदेशका कृषि मन्त्रीको उद्घोष

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं २६ घान्दु्रक चोकमा रहेको गंगा श्री बहुउद्देश्यीय कृषि फार्मले गरेको ड्रागन खेतीको बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले निरीक्षण गरेका छन् । 

पोखराका पदमबहादुर गुरुङका तीन दाजुभाइले चितवन भरतपुर २६ मा बिघा जमिनमा ड्रागन फ्रुटको खेती गरेका छन् । फार्मको निरीक्षणसँगै मन्त्री लामाले कृषि ज्ञान केन्द्रको सहयोगमा निर्मित ग्रिन हाउसको उद्घाटनसमेत गरेका थिए । सो क्रममा मन्त्री लामाले बागमती प्रदेशको कृषि क्षेत्रको नेतृत्व अब चितवनले लिने दावी गरेका थिए ।

चितवन धान केरा, मौरी, माछा, कुखुरा, अण्डा, तरकारी सबैको पकेट क्षेत्रका रुपमा बिकास भएको र अव ड्रागन फुडको केन्द्र पनि चितवन बन्ने मन्त्री लामाको  भनाइ छ । अहिले चितवनका धेरै किसान यसको खेतीतर्फ आकर्षित भएको लामा बताउँछन् । अहिले ७ सयदेखि एक हजारसम्म बजार मूल्य रहेको यो फलको मूल्य घटेर ३ सयमा झरे पनि किसानलाई कुनै पनि हानी नहुने उनको भनाइ छ । एक पटक लगानी गरेपछि २० वर्षसम्म उत्पादन लिन सकिने हुँदा यो खेती निकै प्रभावकारी भएको उनी बताउँछन् । २ बिघामा २ हजार पोलमा यो खेती भएको छ । 

त्यस्तै मन्त्री लामाले यथास्थितिमा गरिने खेती प्रणालीलाई आधुनिक बनाउँदै कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्न आफू लागिरहेको बताए । कृषिमा यान्त्रिकरण र ब्यवसायीकरणमा सरकारको ध्यान केन्द्रित भएको उनको दावी थियो । चितवनमा व्यावसायिक रुपमा यति धेरै क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गर्ने आफू नै पहिलो व्यक्ति भएको गुरुङले बताए । ‘अरुहरुले गमलामा थोरै मात्रामा लगाउने गरेको भए पनि चितवनमा व्यावसायिक रुपमा यसको खती मैले गरेँ, आफूले सुरुमा धेरै ज्ञान नहुँदा अलि बढी खर्च भएको उनको भनाइ छ ।  

ड्रागन सिउँडी प्रजातिको वनस्पति हो । यसको फलबाहिर र भित्र रातो हुने, बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पहेंलो र भित्र सेतो हुने गरी तीन प्रकारको हुन्छ । एउटा ड्रागन फ्रुटको फल १०० ग्रामदेखि १ किलोसम्म हुने गर्दछ । यहाँ अहिले फल फलिसकेको छ । विदेशमा यसको खेती व्यावसायिक रुपमा गर्ने प्रचलन बढी भए पनि नेपालमा भित्रिएको लगभग ५ वर्ष जति भएको छ ।

दाङ र काभ्रेमा गरिएको खेतीको अवलोकन गरेको गुरुङले बताए । ड्रागन फ्रुट स्वास्थ्यका लागि अति नै फाइदाजनक हुने थाहा पाएपछि चितवनमा पनि यो खेती लगाउनु पर्छ भन्ने सन्देश दिन पनि ३ दाजुभाई मिलेर यसको खेती गरेको उनले बताए ।  विदेशिने युवाहरुले यसको खेती गर्न सके विदेशको भन्दा धेरै कमाइ गर्न सक्ने उनको दाबी छ ।  

फर्ममा विरुवाहरु कलमी गरेर उमारिएको छ । उक्त बिरुवा बेच्नको लागि तयार भएको छ । प्रतिबिरुवा २०० रुपैयाँमा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो मार्फमा नर्सरी ब्यवस्थापनमा ज्ञान केन्द्रले आर्थिक सहयोग गरेको बताए । यो फार्म हाउसले चितवनबासी किसानलाई एउटा प्रेरणा दिने ढकाल बताउँछन्  । यहा ग्रीन हाउसमा बिरुवा हुर्काइएको छ ।

रोप्ने बिधि
यो बिरुवा लगाउनु भन्दा पहिला ड्याङ बनाएर ५ फिट जति माथि निस्कने गरी खम्बा गाड्नुपर्छ । खम्बामा अडाएर ड्रागनको विरुवा रोप्नुपर्छ । एक खम्बादेखि अर्काे खम्बासम्मको दुरी ६ फुट हुनु पर्छ । ड्याङ्हरुबीचको दुरी १०.५ फिटको हुनुपर्छ । विरुवा ठूलो हुँदै गएपछि खम्बाको माथि हुने रडलाई बग्याएर त्यसमाथि टायर राख्नुपर्छ । ड्रागनको बोट त्यही टायरमा लत्रिएर फुल्न, फल्न थाल्छ । यहा मोटरसाइकलको टायर प्रयोग हुने गरेको छ । यस खेतीको लागि पानी जम्न दिनुहुँदैन । त्यसैले खम्बा गाडेको ठाउँमा केही उँचो बनाएर विरुवा रोप्नुपर्छ । पोलको ४ वटै पाटामा एक एक बिरुवा रोप्न सकिने छ । 

ड्रागन फुडको फाइदा
यो फल स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । यो फलमा धेरै प्रकारका भिटामिन र खनिज तत्वहरु पाइने र त्यो मानव स्वास्थ्यका लागी निकै लाभकारी हुने बिज्ञहरु बताउछन् ।  यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्ट्रोललगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताईन्छ । 

प्रतिक्रिया दिनुहोस