प्रहरीको हत्यामा प्रहरीकै कमजोरी !

बुधबार, १२ कार्तिक २०७७, १३ : ४०
प्रहरीको हत्यामा प्रहरीकै कमजोरी !

महेन्द्रनगर । कैलालीको जुगेडामा तस्कर गिरोहबाट दुई प्रहरीको हत्यामा प्रहरी कमजोरीको पनि चर्चा हुन थालेको छ । प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रंहरी जवान राम बहादुर साउँदको असोज अन्तिम साता हत्या भएपछि जुगेडामा प्रहरीको भूमिका पनि कमजोर देखिएको चर्चा बाहिर आउन थालेका छन् । 

अहिले प्रहरीले केराउ तस्करीमा संलग्न गिरोहले एकाएक प्रहरीमाथि आक्रमण गरी हत्या गरेको बाहिर ल्याए पनि त्यसमा पूरापूर विश्वास गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी हत्यामा प्रयोग गरिएका घरेलु हतियार सहितले तस्कर गिरोह अदृष्य शक्तिको आडमा तस्करी धन्दा चलाई रहेको प्रहरी हत्याले खोलि दिएको छ ।

सशस्त्र र जनपदका प्रहरी पोष्ट रहेको कैलाली सदरमुकामै सीमा क्षेत्रमा तस्कर गिरोहलाई प्रहरी र राजनीतिक शक्तिको साथ भएको आशंका बलिया हुन पुगेको छ । प्रहरीसंग सेटिङ्ग र राजनीतिक पहुँचका कारण तस्करहरु प्रहरीमाथि आक्रमण गरी हत्या गर्ने अवस्थासम्म पुगेको चर्चा बाहिर व्यापक छ ।

कैलालीमा तस्करहरुले यस अघि नै डोके बजार प्रकरणमा आफ्नो शक्ति देखाई दिएका थिए । उनीहरुले राजनीतिक शक्ति प्रयोग गरी कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडालाई लखेटि दिएका थिए ।तस्कर गिरोहले खतिवडालाई लखेट्न राजनीतिक शक्ति बाहेक केही मिडियालाई समेत प्रयोग गरेको थियो । 

शक्तिर्कै कारण बलियो भएका तस्करले जे पनि गर्न सकिने ठानेर प्रहरीको हत्या गरे पनि त्यस विरुद्ध स्वयम् पनि निष्प्रभावी देखिएको छ । तस्करको अखाडामा उच्च सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरी तस्करीलाई नै बढावा दिएको छ ।

अहिले प्रहरीले जुगेडालाई तस्करको अखाडा भनेर प्रचार गरे पनि त्यसमा सीमा संवेदनशिलाताका आधारमा सुरक्षा व्यवस्थापन नगर्ने कैलाली प्रहरीको नियतमातिथ आशंका उब्जिएको छ ।

कैलाली प्रहरी सहित हत्या गरिएका प्रहरी सहायक निरीक्षक विक पनि शंकाको घेरामा तानिएका छन् । अघिल्लो दिन मात्र अवैध सुर्ती बरामद गरेका उनी दोस्रो दिन राति स्लिपिङ्ग ब्याग बोकेर सीमामा गएकाले उनको नियत पनि शंकाको घेरामा परेको छ ।

प्रहरीका अनुसार चौकी इन्चार्ज भएपछि सुर्ती बरामद गरेका विकलाई अघिल्लो दिन तस्करको समूह छाड्न माग गर्दै केही नेता सहित प्रहरी चौकी आएको थियो । सर्ती नछाडेपछि उनीहरु त्यसै फर्केका थिए ।

अघिल्लो दिन समान छुटाउन आएकालाई रित्तै फर्काएका विक दोस्रो दिन प्रहरी जवान साउँद सहित एक्लै राति गस्तीमा जाँदा मोहना नदीमा हत्या गरी फालिएको अवस्थामा भेटिएका हुन् ।

विक स्लिपिङ्ग ब्याग बोकेर एक जना प्रहरी मात्रै बोकेर सीमा नाका गस्तीमा गएकाले प्रहरीले त्यसलाई पनि आन्तरिक अनुसन्धान गरि रहेको छ । सीमामा तस्करी व्यापक हुने जानकारी हुँदा हुँदै विक तस्करको अखाडामा सुत्ने गरी गएकाले प्रहरी तस्कर सम्बन्ध बिग्रनको कारण खोज्न थालिएको छ ।

बाहिर तस्करीको व्यापक प्रचार गरिए जसरी तस्करको अखाडा भए दुई प्रंहरी मात्रै सीमा जान नसक्ने र अन्यलाई पनि लैजानु पर्ने तथा त्यस बाहेक सशस्त्र प्रहरीको साथ लिन सकिने अवस्था भएको स्थानीयको तर्क छ । तस्करसंग साँठगाँठ भएका उनीहरुले राति सुत्ने गरी निर्धक्क भएर सीमा गस्तीमा आएको हुन सक्ने स्थानीय बताउँछन् ।

हत्या गरिएका दुई प्रहरीमाथि उनीहरु तस्करी रोक्नभन्दा अशुली गर्न सीमा गस्तीमा गएको आशंका बलियो हुन पुगेको छ । सीमा क्षेत्रमा तस्करकै साँठगाँठमा प्रहरी इटा भट्टामा सुत्दै आएको विगतका घट्ना पनि पुष्टि गरि दिएका छन् । स्थानीयका अनुसार चौकीका प्रहरी गस्तीमा आएपछि इटा भट्टामा सुत्ने गरेको र उनीहरु विहानमात्रै फर्किने गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरीले भने केराउ तस्करीमा प्रहरीबाट अवरोध भएपछि उनीहरुले आक्रमण गरी हत्या गरेको दाबी यस अघि नै गरी सकेको छ । प्रहरीले केराउ तस्करी बाहेक आफ्नै संगठनको तस्करसितको सम्बन्ध अनुसन्धान नगरे भविष्यमा आक्रमण हुने सम्भावना अन्त्य नहुने देखिएको छ । 

कैलाली टिकापुर सहित अन्यका नाकामा कडाई गरिएपछि केही वर्षदेखि मात्रै जुगेडा तस्करी अखाडा बनेको सुरक्षाकर्मी बताउँछन् । स्थानीयका अनुसार सशस्त्र र जनपद दुबैसित सम्बन्ध राखेर तस्करहरुले कारोबार गर्र्दै आएका छन् । तस्करहरुले राजनीतिक र आर्थिक रुपमा बलियो ठानिएका धनगढीका व्यवसायीहरुका लागि तस्करी गर्र्दै आएका छन् ।

जुगेडामा प्रहरीलाई अहिले आक्रमण गरिए पनि त्यस अघि प्रहरी राति निष्फिक्री जुगेडामा इटा भट्टाहरु सुत्ने गरेको स्थानीय बताउँछन् । इटा भट्टामा सुतेका प्रहरीलाई समेत नछोएका तस्करले बर्दीका प्रहरीमाथि आक्रमण गरेपछि भने तस्कर प्रहरी सम्बन्ध छताछुल्ल हुन पुगेको छ ।
तस्कर आक्रमणमा मारिएका विक र साउँद पनि त्यस दिन इटा भट्टामा सुत्ने भनेर स्लिपिङ्ग ब्याग बोकेर गएको आशंका गरिएको छ । प्रहरी सहायक निरीक्षक विक उच्च लबिङ्ग गरी जुगेडा चौकी सरुवा भएको चर्चा पनि बाहिर आएको छ ।जोडबल गरी जुगेडाका गएका उनी पनि शंकामा तानिएका छन् ।

धनगढी उप महानगरपालिकाको १२ नम्बर वडामा पर्ने जुगेडामा यस अघि आफूमाथि भएका आक्रमणलाई पनि प्रहरी नजर अन्दाज गरेका छन् । ६ वर्ष अघि चौकीका प्रहरी हवल्दार गणेश प्रसाद जोशी सहित तीन प्रहरीमाथि आक्रमण गरिएको थियो ।

ईटा भट्टाबाट मजदुरको रकम लुटेर भाग्ने समूहको खोजी गर्दा उनी सहित प्रहरीमाथि आक्रमण गरिएको थियो । प्रहरीमाथि आक्रमण गर्ने समूहमाथि मुद्दा चलाइए पनि राजनीतिक पहुँचका कारण मुद्दा कमजोर भएर प्रहरी आक्रमणमा संलग्नले उन्मूक्ति पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी अधिकारी समेत आक्रमणकारीकै पक्षमा देखिएपछि प्रहरीहरु मन बुझाउन बाध्य भएका थिए ।
यस बाहेक केही महिना अघि मात्रै जुगेडामा एक सस्शत्र प्रहरीको शव नदीमा भेटिएको थियो । सुर्खेत घर भएका ती प्रहरी नदीमा डुबेर मृत्यु भएको भन्ने निष्कर्ष निकालिएको थियो । जबकी तस्कर समूहले उनलाई पनि हत्या गरी नदीमा फालेको आशंका गरिएको थियो ।

कैलाली सदरमुकाम नजिकको जुगेडा तस्कर अखाडालाई नियन्त्रणमा लिन सशस्त्र र जनपद दुबै विफल भएको असई हत्याकाण्डबाट स्पष्ट भएको छ । तस्करी र सीमा अपराध नियन्त्रणका लागि संकटकालमै २०५८ मा जुगेडामा प्रहरी राखिएको थियो ।

सशस्त्र द्वन्द्वका कारण अस्थायी रुपमा राखिएको प्रहरीलाई २०६५ मा चौकी बनाएर निरन्तर परिचालन गरिएको थियो । प्रहरीका अनुसार प्रहरी राखिएपछि २०५८ मै तत्कालिन प्रहरी सहायक निरीक्षक शंकरदेव साहुमाथि पनि आक्रमण गरिएको थियो ।

प्रहरीले सहायक निरीक्षक सहित दुई प्रहरी गुमाएपछि भने सुरक्षा व्यवस्था बलियो बनाउन ध्यान दिन थालेको छ । जुगेडामा असईको सट्टा सईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ ।

त्यस क्षेत्रमा पूर्वाधार सहितका संरचना निर्माण गरी सीमा संवेदनशिलताका आधारमा सुरक्षा परिचालन गर्ने बाध्यतामा कैलाली प्रशासन पनि पुगेको छ । त्यसका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छलफल अघि बढाएका छन् ।

सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले पनि सीमा सुरक्षामा पूर्वाधार निर्माण र पर्याप्त जनशक्ति परिचालनलाई ध्यान दिइने धारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस