सुन्धाराको मस्जित तोडफोड गर्ने पक्राउ, पुनः निर्माणको आजै शिलान्यास

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १५ : ४९
सुन्धाराको मस्जित तोडफोड गर्ने पक्राउ, पुनः निर्माणको आजै शिलान्यास

सुन्धारा । सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा शनिबार बिहान तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित छ । 

यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस