रामनगरवासीको जाँगर : फोहर फाल्ने ठाउँ बन्यो पुष्पवाटिका

प्रकाश सिग्देल

बुधबार, ०५ कार्तिक २०७७, १५ : ४८
रामनगरवासीको जाँगर : फोहर फाल्ने ठाउँ बन्यो पुष्पवाटिका

चितवन । रातो र सेतो रंगले रंगाइएको सालको रुख । सालको रुखमुनि हरियो दुबो । दुबोको छेउमा पहेँलै सयपत्री । सयपत्रीको बीचमा चिल्ड्रेन पार्क । पार्कको बीचमा नागबेली झैँ पैदल मार्ग । पार्कमा रम्दै गरेका सानासाना बाबुनानी अनि नागबेली मार्गमा सेल्फी लिँदै गरेका तिनका अभिभावकको मन्द मुस्कान । आजभोलि यस्तो दृश्य कमै देख्न पाइन्छ । कोरोनाको डरले गर्दा यस्तो रमाइलो हेर्न आजभोलि धेरैलाई संयोग जुर्दैन । तर कोरोना कहरकै बीचमा फोहोरको थुप्रो पन्छाएर रामनगरवासीले यस्तै ऊर्जादायी दृश्य हेर्न मिल्ने निकै सुन्दर पार्क बनाएका छन् ।

रामनगर बजारमा सडकसंगै जोडिएको जंगल छेउको फोहोर र झाडी भएको सतह नमिलेको खोल्साखाल्सी रहेको जमिनमा स्थानीयहरुले रामनगर पुष्पवाटिका निर्माण गरेका छन् । जमिनको स्वरुपलाई कत्ति पनि नबिगारी त्यही स्वरुपलाई कलात्मक रुपमा सिँगारी स्थानीयले निकै सुन्दर पार्क बनाएका हुन् ।  

विगतमा स्थानीय र होटल ब्यवसायीले फोहोर फालेर कुरुप बनेको क्षेत्र अहिले तिनै स्थानीय र होटल ब्यवसायीहरुले नै सफा गरी निकै आकर्षक पार्कका रुपमा विकास गरेका छन् । लकडाउनका कारण ब्यवसाय बन्द भएपछि आफूहरुले त्यही समयको सदुपयोग गरी पार्क निर्माण गरेको स्थानीयहरुले बताए । अहिले यो मार्ग भएर हिँड्ने जोकोही पनि यो पार्क देखेर आनन्दको अनुभूति गर्ने गरेका छन् । पार्क निमार्णको काम अहिले चलिरहेको छ ।

रामनगर पुष्पवाटिकाका संरक्षक तारा कुँवरले रामनगरका स्थानीय र होटल ब्यवसायीहरुले प्रतिघर १४ हजारका दरले रकम उठाएर श्रमदान समेत गरेर पार्क निर्माण गरिएको बताउनु भयो । अहिलेसम्म १० लाखको हाराहारीमा रकम खर्च भएको र यो सबै रकम स्थानीयहरुबाटै उठाएर काम भएको उहाँको भनाई छ ।

फोहोरले अति कुरुप र दुर्गन्धित भएपछि लकडाउनका बेला सफाई गर्ने उद्देश्यले सफा गर्दै जाँदा पछि पार्क नै बनाउने सल्लाह भए बमोजिम पार्क निर्माण गर्दै लगिएको र आगामी दिनमा पिकनिक स्पट, विभिन्न जातजातिको संस्कृति झल्कने संरचनाहरु समेत निर्माण गर्ने बिषयमा जानजाति महासंघका अगुवाहरुसंग सरसल्लाह भइरहेको कुँवरको भनाई छ ।

समितिका उपाध्यक्ष दिवाकर भट्टराईले सबै जना मिलेर ३ महिनादेखि पार्क निर्माण गरेको बताउनु भयो । सयपत्री फूल फुलेको छ । शिवजीको ६ फिटको मूर्ति राखिएको छ । बाटोमा यात्रा गर्ने मानिसहरु एकछिन भएपनि गाडी रोकेर यहाँ बसेर फोटो खिचेर एकछिन भएपनि प्रकृतिसंग रमाऊन् भन्ने उद्देश्यले वाटिका निर्माण गरेको उहाँको भनाई छ । यहाँ बालबालिकाका लागि बालउद्यान बनेको छ । निकै आकर्षक पुष्पवाटिका बनेको छ । लभ पार्क निर्माणको चरणमा छ  । पिकनिक स्पट, गोलघर, कफीघर निर्माण गर्ने उहाँको भनाई छ ।

विगतमा सबैले फोहोर फाल्ने गरेको यो ठाउँमा फोहोर फाल्न बन्द गरी हरियाली र रमणीय ठाउँ बनाउने उद्देश्यसहित काम सुरु गर्दै जाँदा सुन्दर पार्क बनेको स्थानीय मनबहादुर लामिछानेले बताउनु भयो । ख्यालख्यालमा निकै राम्रो काम भएको र अब अझै राम्रो बनाएर यात्रा गर्ने यात्रुहरु एकपटक यहाँ झरेर पार्क घुमेर सेल्फी लिऊन् भन्ने उद्देश्यले आफूहरुले जतिसक्दो पार्क राम्रो बनाउन लागि परेको न्यू शिवशक्ति होटलका सन्चालक बिनोद भण्डारीले बताउनु भयो ।  

फोहोर र झाडीले कुरुप बनेको यो क्षेत्र आफूहरुले निकै सुन्दर बनाएको र खाना खान आउने यात्रुहरुले पार्कमा घुमेर फोटो खिच्ने गरेको उहाँको भनाई छ । सबै मिलेर काम गरे हरेक कुरामा राज्यको मुख ताक्नु नपर्ने रहेछ भन्ने सन्देश पनि रामनगरवासीले दिएका छन् । उनीहरुको यो काममा स्थानीय सरकारले पनि साथ र सहयोग गर्न आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस