चाडवाड नजिकिएसँगै महँगी अचाक्ली, सर्वसाधारण मर्कामा

पत्रपत्रिकाबाट

बुधबार, ०५ कार्तिक २०७७, ०७ : ५३
चाडवाड नजिकिएसँगै महँगी अचाक्ली, सर्वसाधारण मर्कामा

काठमाडौँ । कोभिड–१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने अकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा एक सय रुपैयाँ घटे पनि खुद्रामा पुरानै मूल्यमा बिक्री भइरहेको छ ।

चाडबाडको मुखमा मूल्यवृद्धि अरू बेला पनि हुने गरेको छ । महामारीले सबै क्षेत्र शिथिल भएको मौका छोपी अस्वाभाविक रूपमा मूल्य बढाउनु भने गलत भएको जानकारहरू बताउँछन् । ‘व्यापारीहरू संगठित छन्, उनीहरूको प्रभाव पुनः देखिएको छ । कोभिडले समस्याग्रत भइरहँदा उनीहरूमा सामाजिक उत्तरदायित्व देखिएन, छुट दिनुपर्नेमा भाउ बढाएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका पूर्वमहानिर्देशक कृष्णहरि बाँस्कोटाले भने, ‘सरकारी रबैया पनि उस्तै छ । अनुगमन प्रणाली बलियो छैन ।’ बजार अनुगमन चाडबाडमा मात्रै केन्द्रित हुँदा पनि समस्या देखिएको उनको भनाइ छ ।

बाँस्कोटाले उपभोक्ता पनि जागरुक नहुँदा ठगिएको तर्क गरे । ‘सामान खरिद गर्दा दुईतीन वटा पसलमा हेर्नुपर्छ, कसैले ठगी गरे उजुरी गर्नुपर्छ भन्ने भावना नै भएन,’ उनले भने । खुद्रा व्यापार संघका अनुसार केराउ, चना, दाल, खानेतेल, बोडी, राज्मालगायत खाद्यवस्तुको मूल्य बढ्न थालेको छ । विगत वर्षभन्दा यी वस्तुको मूल्य अहिले बढी छ । पछिल्लो एक महिनाको तुलनामा पनि तेल, गेडागुडी, आँटामैदा, तरकारीलगायतको मूल्य धेरै छ ।

‘पछिल्ला दिनमा खानेतेल, गेडागुडी, आँटालगायतको मूल्य बढेको छ । खुद्रा व्यवसायी होलसेलले बढायो भन्छन्, होलसेल व्यवसायीहरू उद्योगीले बढायो भनेर पन्छिएका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘बिलबीजक हुँदैन, त्यही भएर समस्या भयो । मूल्यका सन्दर्भमा नियामक निकाय वाणिज्य विभागलाई जानकारी गराएका छौं ।’

संघका अनुसार गत वर्षको दसैंको तुलनामा ताइचिन चिउरा किलोमा १० रुपैयाँले बढेर १ सय ३० रुपैयाँ, गुणस्तरअनुसार किलोको १ सय ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको मुगु खोस्टा १ सय ७० रुपैयाँ, ९० रुपैयाँदेखि १ सय ३० रुपैयाँ परेको मुसुरो १ सय ४० रुपैयाँ, रहर दाल १० रुपैयाँ बढेर १ सय ६० रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा हरियो केराउको मूल्य किलोमै ४० रुपैयाँले बढेर १ सय २०, राज्मा २० रुपैयाँले बढेर १ सय ८० र बोडी ३० रुपैयाँले बढेर १ सय ३० रुपैयाँ भएको छ । खानेतेल तथा घिउको मूल्य पनि किलोमै ५० रुपैयाँसम्म बढेको छ । खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि तेल, दाल र गेडागुडीमा मूल्य बढेको बताए । उनका अनुसार तेलका लागि कच्चा पदार्थ भारतबाट आउँछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस