प्रहरी हत्या प्रकरण

जसले मटर तस्करी शून्यमा झार्छु भन्थे, उही तस्करबाट मारिए

पक्राउ परेका ७ जनाले हत्या स्वीकार गरे

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १६ : ३५
जसले मटर तस्करी शून्यमा झार्छु भन्थे, उही तस्करबाट मारिए

धनगढी । कैलालीको विभिन्न नाकाबाट भारततर्फ मटर (हरियो केराउ) तस्करी भइरहेको कतैबाट गाईँगुईँ हल्ला आउनसाथ प्रहरी सहायक निरीक्षक गोविन्द विक मोटरसाइकल लिएर कुदिहाल्थे । सके मान्छेसहित पक्राउ गर्थे, नसके मटर लिएर भए पनि फर्कन्थे । 

प्रहरी सहायक निरीक्षक विकले तस्करको घरेलु हतियारबाट मारिनु दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट ठूलो परिमाणको अवैध सुर्ती बरामद गरेका थिए । मटर त तस्करीको हातबाट कयौँपटक उनले नियन्त्रणमा लिएका थिए । आफ्ना निकटवर्तीसँग भन्थे, ‘मटर तस्करी शून्य झार्छु, अन्य तस्कर रोकेरै छोड्छु ।’

सायद प्रहरी निरीक्षक विकको तस्करी रोक्ने अभियानको सुइँको तस्कर समूहले थाहा पाए, र विक निशानामा परे । तस्कर समूहको घरेलु हतियारबाट रेटिन विवस भए । आफ्नो तस्करी रोक्ने अभियानमा पूर्णविराम लगाउनै पाएनन् । नेपाल–भारत सीमामा हेर्ने बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेका थिए । त्यसैले त तस्करीको तारो बने उनी । 

विक कैलालीको अस्थायी प्रहरी बिट जुगेडामा प्रहरी सहायक निरीक्षक (असई) भएर गएको तीन महिनामात्र भएको थियो । तीन महिनामा उनले केही तस्करीहरुलाई ठेगान लगाइसकेका थिए । तस्कर रोक्ने लाइनमा दिनहुँ खटिएका थिए । राष्ट्र र राष्ट्रियताको लागि ज्यानको बाजी लगाएर तस्करी रोक्न तस्करहरुको गुँडमा पसे । राष्ट्रसेवामा अहोरात्र खटिँदाखटिँदै २८ वर्षकै उमेरमा पापीहरुको पासोमा परे र मृत्युवरण गर्न बाध्य भए ।

असई विकको हिस्ट्री 

०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका हुन् बिकले ।  कैलाली बहुमुखी क्याम्पसमा  स्नातकोत्तर पढिरहेका थिए । प्रहरी निरीक्षक बन्ने सपना थियो उनको । त्यो सपना पनि पूरा हुन सकेन । बिक कञ्चनपुरको पुनर्वास नगरपालिका–८, सुकुम्बासी वस्तीमा हुर्किएका हुन् । बुबाले २० वर्षअघि नै उनलाई छाडेर गएका थिए, त्यसपछि आमा कलुदेवीले दाउरा बोकेर पढाएकी थिइन् । 
बिक अध्ययन गर्दैगर्दा प्रहरीमा असईमा भर्ना भएका हुन् । 

जनताको जीउधनको रक्षा गर्ने प्रण गरेर प्रहरी सेवामा होमिएका विक धेरै गर्न बाँकी हुँदाहुँदै अस्ताए । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार एक जना राष्ट्र सेवक, प्रहरी सेवामा भविष्यको कर्णधार गुमायौँ, कानुनमा टेकेर यसको जवाफ दिनेछौँ ।’  गत शनिबार बेलुकी बिक जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका विक फर्केनन् । गत आइतबार बिहान मोहना नदीमा फ्याँकेको अवस्थामा उनको शव भेटिएको छ । उनको शव भेटिएको नजिकै जवान साउदको पनि शव भेटिएको छ । 

यस्तो अवस्थामा भेटिए साउद

विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउद भेटिए । जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको हो। उनका अनुसार खाल्डोमा शवलाई फ्याकिएको थियो । बालुवाले पुरिएको थियो । जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।

सात जना पक्राउ 

विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ परेका ७ जनाले हत्या स्वीकार गरेका छन् । उनीहरुले मटर तस्करीमा अवरोध गरेकै कारण घरेलु हतियारले हानेर हत्या गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् ।


 

प्रतिक्रिया दिनुहोस