‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १३ : ३७
‘के मेरो माया लाग्छ र’ गीत सार्वजनिक

चितवन । प्रदर्शनको तयारीमा रहेको मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ । 

चितवनका सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार साँझ मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। देवराज आलेमगर र तारा श्रीषमगरले आवाज, राजु थापामगरको शब्द र देवराज आलेमगरको संगीतमा तयार भएको गीतको भिडियो गोविन्द पुनमगरको निर्देशन गरेका हुन् । पोखरा आसपासको क्षेत्रमा छायांकन गरिएको उक्त गीतमा रमेश र सनम एकापसमा बाँधिएका छन् ।

अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरले निर्माण गरेको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गरेका छन् । चलचित्रमा नायकको रूपमा उदाएका रमेश रानामगर स्वयमले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमा दर्शकमाझ उभ्याउने प्रयास गरेका छन् । ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारले पहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याएका छन् । साथमा प्रेमकुमारी थापामगर, देवी आलेमगर, भीमबहादुर थापामगर, मिलन पाटामगर, बलबिक्रम थापामगर लगायतले अभिनय गरेका छन् ।

रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका छन् । अधिकांश दृश्य तनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की र चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ । चलचित्रमा पहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ । प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्न नसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताए ।

 

प्रतिक्रिया दिनुहोस