२० वटा सेनिटाइजर कम्पनीमाथि कारबाही

पत्रपत्रिकाबाट

शनिबार, ०१ कार्तिक २०७७, ०७ : ३१
२० वटा सेनिटाइजर कम्पनीमाथि कारबाही

औषधि व्यवस्था विभागले २० वटा सेनिटाइजर कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले मापदण्ड नपुर्‍याई सेनिटाइजर उत्पादन गर्ने ती कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

‘मापदण्डभित्र नरहेका सेनिटाइजर कम्पनीलाई कारबाही गर्दै छौं,’ ढकालले भने, ‘यस विषयमा अहिले अनुसन्धान हुँदै छ । अहिले जानकारी माग्ने, प्रमाण र सूचना खोज्दै छौं ।’ अहिले २० वटा सेनिटाइजर कम्पनी हेरिरहेका छौं । अरू कम्पनीका विषयमा उत्पादन ल्याबमा टेस्ट गर्ने काम भइरहेको उनले जानकारी दिए ।

‘कस्मेटिक, स्वास्थ्य सामग्री र साबुन उत्पादन गरिरहेका उद्योगले पनि सेनिटाइजर बनाएर बेचिरहेका छन्,’ उनले भने, ‘त्यसैले मापदण्डभित्र रहेर गुणस्तरीय सेनिटाइजर उत्पादनका लागि छ महिनाको समय दिएका थियौं । तर उनीहरूले त्यो समयभित्र गुणस्तरयुक्त सेनिटाइजर बनाएनन् ।’

विभागले तोकेको मापदण्ड इथानोलबाहेकका अन्य रसायन प्रयोग गरेको पाइएकाले कारबाही गरिएको उनले जानकारी दिए । मापदण्डभित्रमा रहेका सेनिटाइजर उद्योगलाई उत्पादनका लागि अगाडि बडाइरहेको ढकालले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस