आईपीएल : दिल्ली पुनः प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

एजेन्सी

विहीबार, २९ असोज २०७७, ०८ : १४
आईपीएल : दिल्ली पुनः प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स पुनः शिर्ष स्थानमा उक्लेको छ । बुधबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरी पुनः शीर्षस्थानमा उक्लेको हो ।

टस जितेर ब्याटिंग रोजेको दिल्लीले ७ विकेटको क्षति १६७ रनको चुनौती पेश गरेको थियो । जवाफमा आएको राजस्थानलाई १४८–८ मा रोक्दै दिल्लीले जितको निकालेको हो । । दिल्लीले आठौं खेलमा छैटौं विजय पाएको हो । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १० तथा कोलकाता नाइट राइडर्स ८ अंकसहित शीर्ष चार स्थानमा छन् ।

राजस्थानलाई अन्तिम दुई ओभरमा विजयनिम्ति २५ रन चाहिन्थ्यो । सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि रहेका दक्षिण अफ्रिकी बलर कागिसो राबाडाले १९औं ओभरमा ३ रनमात्र दिई जोफ्रा आर्चर १ को विकेट लिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका तुसार देशपाण्डेले अन्तिम ओभरमा ८ रनमात्र दिई श्रेयस गोपाललाई ६ रनमा आउट गरे ।

राजस्थानले ३ ओभरमा ३७ रन जोडेर राम्रो सुरुआत गरेको फाइदा उठाउन सकेन । जोस बटलरले ३ चौका र १ छक्का प्रहार गरी ९ बलमा २२ रन बनाए । उनलाई बोल्ड गरेका म्यान अफ द म्याच एनरिच नोर्टजेले रोबिन उथप्पाको स्टम्प पनि उडाइदिए । उथप्पाले २७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । ओपनर बेन स्टोक्सले ३५ बलमा ६ चौकासहित ४२ र सन्जु सामसनले १८ बलमा २ चौकासहित २५ रन जोडे ।

राजस्थानलाई तीनमध्ये दुई खेलमा विजय दिलाएका राहुल टेवाटिया १८ बलमा १४ रन बनाई अविजित रहे । नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेका थिए । तुसारले ४ ओभरमा ३७ रन खर्चे । रविचन्द्रन अश्विन र अक्षर पटेलले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस