CG Landmark
बलिवुड

गुरु दत्तको जीवन : नाम, दाम, प्रेम, नशा र परमधाम

बुधबार, २८ असोज २०७७, १३ : ५१
गुरु दत्तको जीवन : नाम, दाम, प्रेम, नशा र परमधाम

– राजेन्द्र स्थापित

ये महलों ये तख्तों ये ताजोंकी दुनियाँ
इन्सानके दुश्मन समाजोंकी दुनियाँ
ये दौलतके भुखे, रिवाजोंकी दुनियाँ
ये दुनियाँ अगर मिल भी जाये तो क्या है !

Yeti Diistillery Tansen Cement box

हर एक जिस्म घायल हर एक रुह प्यासी
निगाहों में उल्झन, दिलों में उदासी
ये दुनियाँ है आलमे, बदहवासी
ये दुनियाँ अगर मिल भी जाये तो क्या है !

यहाँ एक खिलौना है इंसाकी हस्ती
ये बस्ती है मूर्दा परस्तोंकी बस्ती
यहाँ पर है जीवनसे है मौत सस्ती
ये दुनियाँ...

जवानी भटकती है बदकार बनकर
जवान जिस्म सजते है बाजार बनकर
यहाँ प्यार होता है व्यापार बनकर

ये दुनियाँ जहाँ आदमी कुछ नहीं है
वफा कुछ नहीं है, दोस्ती कुछ नहीं है
जहाँ प्यारकी कद्र कुछ नहीं है 

जला दो, इसे फूक डालो ये दुनियाँ
मेरे सामनेसे हटा लो ये दुनियाँ
तुम्हारी है तुम ही संभालो ये दुनियाँ
ये दुनियाँ अगर मिल भी जाये तो क्या है !

यो गीतका रचनाकार साहिर लुधियानबी हुन् । गीत हो– हिन्दी चलचित्र ‘प्यासा’ को । प्यासा हिन्दी रजतपटको उत्कृष्ट चलचित्र हो । सन् १९५७ मा प्रदर्शित यो चलचित्रलाई आज पनि ‘भगवान’ को रुपमा लिने गरिन्छ । विश्वप्रसिद्ध पत्रिका ‘टाइम्स’ ले विश्वका सर्वश्रेष्ठ १० रोमान्टिक चलचित्रमध्ये यसलाई पाँचौं स्थानमा राखेको छ भने निर्माता–निर्देशकहरुले विश्वमा बनेका अहिलेसम्मकै १ सय चलचित्रमा पारेका छन् । यो चलचित्रको निर्माता, निर्देशक र पटकथाकार गुरुदत्त हुन् । चलचित्रमा मुख्य भूमिका पनि उनैको छ ।

गुरुदत्तका अन्य कालजयी चलचित्र साहब, बीबी और गुलाम, कागजके फूल र चाँदहवींका चाँद हुन् । उनलाई सिएनएनले एसियाका सर्वश्रेष्ठ २५ निर्देशकमा राखेको छ । उनीद्वारा निर्मित, निर्देशित चलचित्र जर्मनी, फ्रान्स र जापानमा समेत लोकप्रिय हुन्थे । 

गुरुदत्तको वास्तविक नाउँ वसन्तकुमार शिवशंकर पादुकोण हो । उनी कर्नाटकी हुन् । पछि परिवार मुम्बई गयो । पुनाको प्रभात फिल्म कम्पनीमा सन् १९४४ देखि काम गर्न थाले । उनीद्वारा अभिनित पहिलो चलचित्र हो, चाँद । जसमा श्रीकृष्णको सानो भूमिकामा देखा परे । पछि निर्देशकद्वय विश्राम बेडेकर र पिएल सन्तोषीको सहायक बने । साथै ‘दि इलुस्ट्रेटेड विक्ली अफ इण्डिया’ मा लघुकथा लेख्न थाले ।

सन् १९४७ मा प्रभात फिल्म कम्पनी बन्द भएपछि मुम्बई फर्के, अभिया चक्रवर्ती र ज्ञान मुखर्जीजस्ता दिग्गज निर्देशकसँग काम गरे । यसैबीच नवकेतन फिल्म्सका मालिक तथा अभिनेता देव आनन्दसँग भेट भयो । दुई जनाबीच एउटा सम्झौता भयो । यदि गुरुदत्तले फिल्म बनाए भने नायक देव आनन्दलाई बनाउनुपर्ने, देव आनन्दले फिल्म निर्माण गरे भने निर्देशनको जिम्मा गुरुदत्तलाई दिनुपर्ने । 

सन् १९५१ मा नवकेतनले दोस्रो चलचित्र ‘बाजी’ निर्माण गर्ने भयो । कलाकार थिए– देव आनन्द र गीता बाली । चलचित्रमा कूल आठवटा गीत थियो, तीमध्ये ६ वटा गायिका गीता दत्तले गाएकी थिइन् । गीता राय (दत्त) २१ वर्षकी थिइन् । सुन्दर, चित्ताकर्षक व्यक्तित्व । त्यसबेलासम्ममा पुगनपुग ४ सय गीत गाइसकेकी । स्थापित गायिका । मीठो स्वर त छँदै थियो, रुपसी पनि थिइन् । उनले गाएको एउटा गीत ‘तदवीर से बिगडी हुई तकदीर बनाले, अपने पे भरोसा है तो दाँव लगा ले’ निकै चल्यो । छायांकनकै दौरान गुरुदत्त र गीता राय नजिकिए । भेटघाट बाक्लो हुँदै गयो । प्रेमपत्र लेख्न थाले । त्यो बेला गीतासँग लामो सेतो गाडी थियो । उनी त्यो गाडी चलाएर गुरुको डेरा पुग्थिन् । सिधै किचनमा गई तरकारी काट्न थाल्थिन् । गीता गुरुकी बहिनी ललिथा लाज्मीसँग भेट्न जाने भनेर घरबाट निस्किन्थिन् । यथार्थमा उनको समय गुरुसँग बित्थ्यो । ललिथा पेन्टर थिइन्, उनले दाजु र गीतालाई एकान्तमा समय बिताउन मद्दत गर्थिन् । गुरु–गीताको प्रेमपत्रको हुलाकी पनि उनै हुन्थिन् । 

चलचित्र ‘बाजी’ रिलिज हुने समयसम्म गुरु–गीता गहिरो प्रेममा डुबिसकेका थिए । बाजीले गुरुलाई सफल निर्देशकको रुपमा स्थापित गरिदियो । गुरु–गीता बिहे गरी घरजम गर्न चाहन्थे तर गीताको परिवार अवरोध बन्यो । खासगरी गीताकी आमा छोरीको बिहे असल बंगाली केटासँग गराउन चाहन्थिन् । परिवारको निम्ति उनी सुनको फूल पार्ने अण्डा थिइन् । गीताबाट पाइरहेको राम्रो आम्दानी गुमाउन परिवारले चाहेन । परिवारको असहमतिका बाबजुद गुरु–गीताको मिलन चलिरह्यो । करिब तीन वर्षको प्रेमपछि दुवैले कानुनी बिहे गरे, सन् १९५३ को मे २६ मा । पछि गीताले आमालाई मनाइन् र पुनः गीताकै घरमा दुवैको स्वयम्बर भयो । यसपछि गुरु–गीता खारस्थित अपार्टमेन्टमा बस्न गए ।

दाम्पत्य जीवनको शुरुशुरुमा गुरु–गीता एकअर्कालाई औधी माया गर्थे । गुरु आफ्नो काममा दत्तचित्त भएर लागे । गीताले पनि बाजी, आरपार, मिष्टर एण्ड मिसेज ५५, सिआइडी, प्यासा, कागजके फूल, साहब बिबी और गुलाम, बहारें फिर भी आएँगीलगायतका चलचित्रमा हिट गीतहरु गाइन् । उनीहरुका तीन सन्तान भए– दुई छोरा र छोरी । विस्तारै गीतामा असन्तोष बढ्न थाल्यो । उनलाई गीत गाउन लगाउन गुरुदत्त र देव आनन्दको नवकेतन कम्पनीबाहेक अरुले बन्द गरे । गुरुदत्त स्वयंले पनि चाहेनन् कि गीता अरुहरुको चलचित्रमा गीत गाउँदै जाउन् । उनीहरु दुवैबीच प्रतिस्पर्धाको तकरार हुन थाल्यो । झगडा शुरु भयो । गीता निद्रा लाग्ने औषधि सेवन गर्न र हरेक दुई–चार दिनमा केटाकेटीलाई लिएर माइत जान थालिन् । गुरुदत्त अभिनेता मात्र होइन, साहित्यकार पनि थिए । अत्यन्त कल्पनाशील । गीतामा देखिएको परिवर्तित स्वभावबाट उनी दुःखी बन्न थाले र रक्सीको सहारा लिए । 

यसबीच गुरुदत्तले ‘प्यासा’ बनाउने निधो गरे । प्रमुख भूमिका आफैं खेले । अन्य कलाकार लिए, रहमान, मालासिन्हा र वहिदा रहमान । वहिदा एक बाजारु बेश्याको भूमिकामा थिइन्, जसले राम्रो तर असफल कवि (गुरुदत्त) सँग प्रेम गर्थिन् । प्यासाकै दौरान गुरु वहिदासँग नजिकिए । वहिदालाई थाहा थियो, गुरु विवाहित हुन् तर उनको फिल्म बनाउने सीप, कल्पनाशील व्यक्तित्व र मायालु अनुहारको सामु केही चलेन । दुवै एकअर्कालाई प्रेम गर्न थाले । उता, गीता लोग्नेको नयाँ अफेयरले झन् विचलित बनिन् । यसै कुरालाई लिएर झगडा हुन थाल्यो । झगडा गरेर गीता माइत हिँड्ने र गुरु यता रक्सीमा डुब्ने क्रम चल्यो । 

गुरु र वहिदाको जोडी नै बन्यो । गुरुले अब हरेक चलचित्रमा वहिदालाई खेलाउन थाले । वहिदालाई ‘लोगो’ जस्तै बनाए । वहिदाबिनाको चलचित्र हुँदैन जस्तो गर्न थाले । गुरु–वहिदाको प्रेम प्रसंगले फिल्मी बजार तात्न थालेपछि गीताले दुवैको जासुसीसमेत शुरु गरिन् । छायांकनका लागि दुवै लण्डन जान लाग्दा रोक्न खोजिन् । एकपटक वहिदाको नाउँमा आफैंले गुरुलाई यस्तो पत्र लेखिन्, ‘तिमीले मलाई पागलै बनाइसक्यौ । म पागल बनिसकें । तिमी मलाई आज साँझ नरिमन प्वाइन्टमा भेट्न आऊ । म तिमीसँग केही कुरा भन्न चाहन्छु ।’

पत्र पढेपछि गुरुलाई शंका लाग्यो । उनी साथी अब्रार अल्बीसँग नरिमन प्वाइन्ट गए । त्यहाँ पुग्दा वहिदा होइन, गीता बसिरहेकी थिइन् । यो घटनापछि गुरु निकै दुःखी बन्न थाले । गीता एकपटक लण्डन गइन् । सिधा घर नफर्की कश्मिर गइन् । गुरुले छिटो घर फर्कन सन्देश पठाए । गीताले सिँढीबाट लडेर खुट्टामा चोट लागेकाले तुरुन्त फर्कन नसक्ने जवाफ दिइन् । भावनामा बग्ने, नरम हृदयका गुरु खबर सुनेर असैह्य भए । तुरुन्तै सहायकलाई कश्मिर पठाए । तर सहायक कश्मिर पुग्दा गीता पूर्णतः स्वस्थ रहेको पाए । गीता त्यहाँ लण्डनमा भेट भएका एक जना पाकिस्तानी युवकसँग रमाइरहेको देखे । यो खबरले गुरु दुःखी बने । आफू विवाहित भएर पनि वहिदासँग सम्बन्ध जोड्ने उनले आफ्नी पत्नी अरु युवकको अंगालोमा बाँधिएको हेर्नै चाहेनन् । 

गुरुले पत्नीसँग सुलह चाहे । गीतालाई प्रमुख भूमिका दिएर फिल्म ‘गौरी’ बनाउन थाले । तर पति–पत्नीबीच झगडा भएपछि फिल्मको छायांकन सदाका लागि बन्द भयो । गुरुले अब वहिदासँग पनि टाढा हुन चाहे । उता वहिदा स्वयं पनि गुरुको दाम्पत्य जीवनमा हस्तक्षेप नगर्ने टुंगोमा पुगिन् । वहिदा मुसलमान थिइन्, गुरु हिन्दु । दुवैले भविष्य देखेनन् र टाढा हुन थाले । उता गीता रिसको झोंकमा केटाकेटीलाई लिएर माइत बस्न गइन् ।

गुरु पत्नी र प्रेमिका दुवैबाट टाढिएपछि हरेक दिन रक्सी र निद्रा लाग्ने औषधि सेवन गर्न थाले । रक्सी र औषधि सेवन गरेर सुतेका गुरु सन् १९६४ अक्टोबर १० को बिहान मृत भेटिए । उनी ३९ वर्षका थिए । उनी बितेपछि गीता एक्लोपन महसुस गर्न थालिन् । दिनरात मदिराको सहारा लिन थालिन् । नतिजा कलेजो बिग्रियो र ४२ वर्षको उमेरमा सन् १९७२ मा उनको पनि निधन भयो । (जनआस्थाबाट)