कोरोना संक्रमणका कारण बन्द रहेका शक्तिपिठहरु कात्तिक १ देखि खोलिदैं

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, ११ : ०१
कोरोना संक्रमणका कारण बन्द रहेका शक्तिपिठहरु कात्तिक १ देखि खोलिदैं

काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् ।  काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् ।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गर्नुपर्ने उनले बताए ।

तर सरकारबाट अहिले सम्म यो विषयमा कुनै निर्णय आइनसकेको पनि उनको भनाई छ । स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक १ गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने भएको छ । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भएको कपालीले बताए । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो ।

यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन् । तर अधिकांश मन्दिरहरु कात्तिक एक गते देखि सिमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस