एक ढिक्का भएर निर्वाचनमा होमिन युवाहरूलाई प्रचण्डको निर्देशन

शनिबार, ०९ मंसिर २०७४, ०७ : ३०
एक ढिक्का भएर निर्वाचनमा होमिन युवाहरूलाई प्रचण्डको निर्देशन

चितवन । नेपालको समृद्धि र चितवनको विकासका लागि यसपटकको निर्वाचनमा बामपन्थी गठबन्धनले दुईतिहाई बहुमतसहित शक्तिशाली सरकार बन्नैपर्नेमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले जोड दिएका छन् ।कम्युनिस्टहरूको एउटै बलियो कम्युनिस्ट केन्द्र, शक्तिशाली स्थिर सरकारमार्फत सम्मानित नागरिक र समृद्ध राष्ट्र आफ्नो एकमात्र उद्देश्य भएको उनले बताए ।

पार्टी एकता समय अभावले निर्वाचन अगाडि सम्भव नभएको र निर्वाचन लगत्तै पार्टी एकता भइ छाड्ने उनले बताए । उनले चितवन क्षेत्र नम्बर ३ को उम्मेद्वारी केवल जित्नैका लागिमात्र नभएको बताउँदै रास्ट्रको समृद्धि, चितवनको तीब्र बिकास, न्याय र समानतामूलक समाज निर्माणको लागि भएको बताए ।

कम्युनिस्टहरूको एउटै बलियो कम्युनिस्ट केन्द्र, शक्तिशाली स्थिर सरकारमार्फत सम्मानित नागरिक र समृद्ध राष्ट्र मेरो एकमात्र उद्देश्य । - प्रचण्ड

योङ कम्युनिस्ट लिग र युवा संघ नेपालको संयूक्त भेलालाई शुक्रबार पार्वतीपुरमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैखाले परिवर्तनकारी आन्दोलनमा युवाहरूको विशेष भूमिका रहेको स्मरण गरे । उनले आसन्न निर्वाचनमा युवाहरूको विशेष भूमिका हुनुपर्ने बताएका छन् । चितवन निर्वाचन क्षेत्र न ३ का उम्मेद्वार समेत रहेका प्रचण्डले युवाहरूलाई उच्च मनोबलका साथ एक ढिक्का भई निर्वाचनमा होमिन निर्देशन समेत दिए ।

अध्यक्ष प्रचण्डले युवाहरूलाई योजनाबद्ध रूपमा आक्रामक ढंगले अगाडि बढ्न र युवाहरूलाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाहरूको अपमान गर्नेहरूका विरुद्ध सचेत ढंगले मुकाबिला गर्न निर्देशन दिए । माअोवादी केन्द्रका सचिवालय सदस्य तथा ३ नम्बर निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुबेदी पथिकले निर्वाचनमा अध्यक्ष प्रचण्डको जित निश्चित भैसकेको बताउँदै प्रतिस्पर्धीहरू राजनीतिकरूपमा पराजित भैसकेकाले उनीहरू पैसा र गुन्डागर्दीको सहारा लिन थालेको बताए । त्यसलाई परास्त गर्न युवाहरुले विशेष भूमिका खेल्नुपर्ने उनले बताए ।

युवाहरूलाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाहरूको अपमान गर्नेहरूका विरुद्ध सचेत ढंगले मुकाबिला गर्न निर्देशन

कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटाले युवाहरूलाई संगठित भएर अगाडि बढ्न आग्रह गरे । आसन्न निर्वाचनमा बामपन्थीहरूले देशैभर अत्याधिक बहुमत हासिल गर्नुपर्ने बताउँदै उनले अध्यक्ष प्रचण्ड र सम्पुर्ण गठबन्धनका उम्मेद्वारहरूलाई निर्वाचन हार्ने छुट नभएको बताए । उनले यसका लागि युवाहरूले विजयको लडाइँ लड्नुपर्ने बताए । यूवा संघका लोकपृय नेता कमल पाठकले नेपाली कम्यूनिस्ट आन्दोलनका शिखर पुरूष पुष्पकमल दाहाललाई अत्याधिक बहुमतले जिताउँदामात्र चितवनका युवाहरूको उचाइ बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस