कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान

रासस

सोमबार, २६ असोज २०७७, १४ : ४२
कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान

– नारायण अधिकारी
चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।

नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो ११० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो २०५ रहेको उनको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् ।

तयारी मासु प्रतिकिलो १७५ मा समेत बिक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो २०० र काठमाडौँमा  २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् ।

पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताए । देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले  ६५ तिरेका थिए । सरदर प्रतिकिलो ३० को दाना खुवाएको उनले जानकारी दिए ।

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताए। उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले बताए ।

पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउँछन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।

पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।

कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा ६५ बाट घटेर  २० देखि ३० मा बिक्री हुने गरेको उनले जानकारी दिए । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रु २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।

पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । २१ प्रतिकिलोको मकै २८ र  ६० को भटमास ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ । नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पुर्‍याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस