काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

रासस

सोमबार, २६ असोज २०७७, ११ : ४६
काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ बर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा विहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभे्रमा ७९ मासमेत सङक्रमण देखिएको थियो । “काभे्रपलाञ्चोकमा हाल  सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ ”डा.झाले भन्नुभयो । 
पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेशन र १२० महिला र १६९ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । काभे्रपलाञ्चोकको कुल कोरोना सङ्क्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो ।
यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन् । 
सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन् ।